काठमाडौं । विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्रेक प्रणाली कति टिकाउ हुन्छ । ब्रेक प्याड कहिले फेर्नुपर्छ र यो पेट्रोल तथा डिजेल गाडीको ब्रेकभन्दा कसरी फरक हुन्छ ? भन्ने विषय धेरै प्रयोगकर्ताको चासोको केन्द्रमा छ ।
सामान्यतया पेट्रोल वा डिजेलबाट चल्ने आन्तरिक दहन इन्जिन (आईसीई) भएका गाडीमा ब्रेक प्याड ३० हजारदेखि ६० हजार किलोमिटरको बीचमा फेर्नु पर्ने अवस्था आउँछ । तर, ईभीमा ब्रेक प्याडको आयु उल्लेख्य रूपमा लामो हुने गरेको छ । यसको मुख्य कारण रेजेनेरेटिभ ब्रेकिङ प्रणाली हो ।
रेजेनेरेटिभ ब्रेकिङले गाडीको गति कम गर्ने क्रममा मोटरलाई नै जेनरेटरको रूपमा प्रयोग गरी ऊर्जा पुनः ब्याट्रीमा सन्चित गर्छ । यस प्रक्रियामा मेकानिकल ब्रेकको प्रयोग कम हुने भएकाले ब्रेक प्याड र डिस्कमा घिसावट पनि कम हुन्छ । यही कारण अधिकांश ईभीमा अगाडिको ब्रेक प्याड ७० हजारदेखि १ लाख २० हजार किलोमिटरसम्म र पछाडिको ब्रेक प्याड १ लाखदेखि १ लाख ५० हजार किलोमिटर वा त्योभन्दा बढी समयसम्म चल्न सक्छ ।
विशेषज्ञहरूका अनुसार ब्रेक प्याड फेर्ने निश्चित किलोमिटर सीमा हुँदैन । प्याडको मोटाइ ३ देखि ४ मिलिमिटरभन्दा कम भएमा, ब्रेक लगाउँदा अस्वाभाविक आवाज आएमा वा ब्रेकिङ क्षमता कमजोर भएमा परिवर्तन गर्नुपर्छ । त्यसैले हरेक २० हजारदेखि ३० हजार किलोमिटर चलाएपछि ब्रेकको निरीक्षण गराउनु पर्छ ।
ईभीमा प्रयोग हुने ब्रेक प्याडको आधारभूत संरचना आईसीई गाडीको जस्तै भए पनि केही महत्वपूर्ण फरक छन् । ब्याट्रीका कारण ईभीको तौल बढी हुने भएकाले ब्रेक प्याड र डिस्कलाई उच्च भार तथा ताप सहन सक्ने गरी डिजाइन गरिएको हुन्छ । साथै कम आवाज र कम धुलो उत्पन्न गर्ने विशेष सामग्रीको प्रयोग पनि हुने गरेको छ ।
ईभीको ब्रेक प्रणालीका प्रमुख फाइदामध्ये ब्रेक प्याडको लामो आयु, कम मर्मत खर्च, ऊर्जा रिजेनेरेशन र वन–पेडल ड्राइभिङ अनुभव प्रमुख हुन् ।
कम प्रयोगका कारण डिस्कमा खिया लाग्ने, क्यालिपर जाम हुने तथा विशेष प्राविधिक ज्ञान भएका जनशक्तिले मात्रै ठिक गर्न सक्ने जस्ता चुनौती ईभीमा हुन्छन् ।
नेपालमा बिक्री भइरहेका अधिकांश आधुनिक ईभीमा रेजेनेरेटिभ ब्रेकिङ प्रणाली उपलब्ध छ । यही कारण ईभी प्रयोगकर्ताले पेट्रोल वा डिजेल गाडीको तुलनामा ब्रेक सम्बन्धी मर्मत खर्च उल्लेख्य रूपमा बचत गर्न सक्ने देखिन्छ ।


