नेपाल आउँदै एमजीको नयाँ ईभी ‘हेक्टर टोमहक’ (फोटोफिचर)

काठमाडौं । एमजीको नयाँ ७ सिटे इलेक्ट्रीक एसयूभी ‘हेक्टर टोमहक’ चाँडै नेपाल आउने भएको छ । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले ‘हेक्टर टोमहक’ले नेपाल ल्याउने भएकाे हो ।

कम्पनीले टोमहक ईभी कहिलेसम्म नेपाल आइसक्छ भन्ने औपचारिक घोषणा गरेको छैन । तर, सन् २०२६ भित्रै आउने सम्भावना छ ।

टोमहक एसयूभी लामो रेन्ज, आधुनिक प्रविधि, प्रशस्त फिचरका कारण भारतमा निकै चर्चित बनेको छ । यसको संयमित र प्रिमियम डिजाइनले धेरैलाई तानेको छ ।

यसको अगाडि भागमा स्लिम क्लोज्ड अफ ग्रिल, टेक्स्चर्ड क्रोम इन्सर्ट र इलुमिनेटेड एमजी लोगो प्रयोग गरिएको छ । आयताकार एलईडी हेडलाइट र डीआरएलको संयोजनले एसयूभीलाई फरक पहिचान दिएको छ ।

बम्परमा एरोडाइनामिक्स सुधार गर्न एयर भेन्ट तथा तल्लो भागमा क्रोम फिनिसको एयर ड्याम दिइएको छ । साइड प्रोफाइल निकै बक्सी डिजाइन छ । ठूला विन्डो र परम्परागत पुल टाइप डोर ह्यान्डलसँगै १८ इन्चको ड्युअल टोन अलोय ह्वीलमा रातो ब्रेक क्यालिपर प्रयोग गरेर स्पोर्टी देखाउन कुनै कसर बाँकी राखेको छैन ।

एसयूभीको पछाडि र्यापअराउण्ड एलईडी टेललाइट, ठूलो रूफ स्पोइलर र सिल्भर स्किड प्लेट दिइएको छ ।

इन्टेरियर निकै मिनिमलिस्ट डिजाइनमा तयार भएको देखिन्छ । क्याविन हल्का ब्राउन र कालो कलर थिम तथा ड्यासबोर्ड, डोरप्याड, आर्मरेस्ट र स्टेरिङमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ ।

ड्राइभर सिटमा ६ वे पावर एड्जस्टमेन्ट र अगाडिको यात्रुका लागि ४ वे पावर एड्जस्टमेन्ट दिइएको छ । अगाडिका दुवै सिट भेन्टिलेटेड छन् । गियर सेलेक्टर स्टेरिङ कोलममा राखिएको छ ।

एमजीको एडाप्ट प्लेटफर्ममा बनेको हेक्टर टोमहक ईभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले ३१० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ६९.२ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ५१७ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

यसले ९० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट यसको ब्याट्री ३५ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा भेहिकल टु होम फङ्सन पनि उपलब्ध रहेको छ ।

हेक्टर टोमहक ईभीमा १५.६ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ । यसमा १० स्पिकरको इन्फिनिटी साउण्ड सिस्टम र ८.८ इन्च डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक्नोलोजी उपलब्ध छ ।

यसमा ‘पेट मोड’ र इनबिल्ट कराओके सिस्टमजस्ता रोचक फिचर पनि दिइएको छ । सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टीपीएमएस, अगाडि र पछाडि पार्किङ सेन्सर, अल ह्वील डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा उपलब्ध छन् ।

हेक्टर टोमहकको टप भेरियन्टमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ट्राफिक जाम असिस्टसहितको लेभल २ एडास पनि उपलब्ध छ ।


Back_to_top