काठमाडौं । चीनले विद्युतीय सवारी (ईभी)को ब्याट्री हेल्थ सम्बन्धी जानकारीलाई अझ विश्वसनीय बनाउन नयाँ राष्ट्रिय मापदण्ड सार्वजनिक गरेको छ । नयाँ मापदण्डअनुसार गाडीको ड्यासबोर्डमा देखाइने ब्याट्री हेल्थ र वास्तविक परीक्षणबाट प्राप्त नतिजाबीचको फरक ५ प्रतिशतभन्दा बढी हुन पाउने छैन ।
ड्यासबोर्डमा देखिने ब्याट्री स्वास्थ्य र वास्तविक क्षमताबीचको फरक ५ प्रतिशतभन्दा बढी हुन नपाउने, १० वर्षपछि पनि कम्तीमा ७० प्रतिशत क्षमता कायम हुनुपर्ने व्यवस्था
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र स्ट्यान्डर्डाइजेसन एडमिनिस्ट्रेसन अफ चाइनाको मार्गदर्शनमा तयार गरिएको जीबी/टी ४६९९१.१-२०२५ मापदण्ड हल्का यात्रुवाहक विद्युतीय सवारीका लागि लागू हुनेछ ।
नयाँ मापदण्डले ब्याट्रीको बाँकी हेल्थलाई नै मापनको आधार मानेको छ । नयाँ मापदण्डअनुसार गाडीमा देखाइने एसओसीई र वास्तविक परीक्षणबाट प्राप्त एसओसीई बीचको फरक ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ । यसले प्रयोगकर्तालाई ब्याट्रीको वास्तविक अवस्थाबारे अधिक सटीक जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
मापदण्डले ब्याट्रीको दीर्घकालीन क्षमता कायम राख्नुपर्ने न्यूनतम स्तर पनि निर्धारण गरेको छ। पाँच वर्ष वा १ लाख किलोमिटर चलिसकेपछि ब्याट्रीमा कम्तीमा ८२ प्रतिशत क्षमता बाँकी हुनुपर्नेछ । त्यस्तै, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरपछि ७५ प्रतिशत र १० वर्ष वा २ लाख किलोमिटरपछि कम्तीमा ७० प्रतिशत क्षमता कायम रहनुपर्ने उल्लेख छ ।
विशेषज्ञहरूका अनुसार यो मापदण्डले प्रयोग भइसकेका ईभीको मूल्याङ्कन, वारेन्टी दाबी तथा ब्याट्री स्वास्थ्य सम्बन्धी विवाद समाधानमा साझा आधार तयार गर्नेछ । साथै, फास्ट चार्जिङ र दीर्घकालीन ब्याट्री क्षमताबारे बढ्दो चासोबीच उपभोक्ताले आफ्नो गाडीको वास्तविक ब्याट्री अवस्थाबारे थप स्पष्ट जानकारी पाउने अपेक्षा गरिएको छ ।


