सडक परीक्षणमा देखियो नयाँ पल्सर एन १६०

काठमाडौं । बजाज अटोले एन सिरिजको नयाँ एन १६० मोटरसाइकलको अपडेट भर्सन चाँडै बजारमा ल्याउने भएको छ । कम्पनीले चाँडै लन्च गर्ने तयारी गरिरहेको नयाँ पल्सर एन १६० भारतीय सडकमा परीक्षणका क्रममा देखिएको हो ।

कम्पनीले यो नयाँ मोटरसाइकल लन्चको आधिकारिक मिति घोषणा गरेको छैन । यद्यपि, कम्पनीले अगष्ट १२ तारिखका नयाँ पल्सरको युग सुरू हुने घोषणा गरेको छ । सम्भवतः यो नयाँ मोटरसाइकल सोही दिन सार्वजनिक हुनेछ ।

कम्पनीले आफ्नो लोकप्रिय पल्सर सिरिजलाई नयाँ पुस्तामा अपडेट गर्ने तयारी समेत गरिरहेको छ । कम्पनीले गत साता क्लासिक पल्सर मोडलहरूमा ठूलो परिवर्तन गरेर बजारमा ल्याउने बताएको थियो । सोही क्रममा अब पल्सर एन सिरिज अपडेट भएर आउने संकेत देखिएको हो ।

पूरै ढाकेर परीक्षण भइरहेकाले नयाँ पल्सर एन १६० को विस्तृत विवरण थाहा पाउन सकिएको छैन । परीक्षण क्रममा देखिएको एन १६० हेर्दा यसको बाहिरी बडि डिजाइनमा खासै परिवर्तन भएको छैन । तर यसमा केही साना अपडेट र फिचर थपिने सम्भावना रहेको बताइएको छ ।

मोटरसाइकलमा स्प्लिट सिट सेटअप देखिएको छ । जसले यो मोटरसाइकल टप–स्पेक डुअल च्यानल एबीएस स्प्लिट सिट यूएसडी भेरियन्ट हुन सक्ने अनुमान गरिएको छ । यसमा नयाँ कलर ग्राफिक्स अप्सन समावेश हुन सक्छ ।

हालको मोडलसँग तुलना गर्दा पछाडिको नम्बर प्लेट नजिक रिफ्लेक्टर थपिएको देखिन्छ । त्यस्तै, नयाँ मोडलमा हालको एलईडी टर्न इण्डिकेटरको सट्टा हेलोजन इण्डिकेटर प्रयोग गरिएको छ, जुन केही फरक अपडेट हुन सक्छ ।

नयाँ पल्सर एन १६० मा अगाडिको एलईडी पाइलट लाइटलाई थप स्लिक डिजाइनमा ल्याउन सकिने अनुमान गरिएको छ । यससँगै हेडलाइट डिजाइनमा पनि परिवर्तन हुन सक्ने सम्भावना छ ।

अर्को ठूलो अपडेट भनेको नयाँ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर हुन सक्छ । नयाँ पुस्ताको पल्सर १२५ मा देखिएको ठूलो कलर एलसीडी डिस्प्ले नै एन १६० मा पनि प्रयोग हुन सक्ने अपेक्षा गरिएको छ । जसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर र अन्य स्मार्ट फिचरहरू उपलब्ध हुने छ ।

मोटरसाइकलको इन्जिनमा भने परिवर्तन हुने छैन । हालको मोडलमा रहेको १६४.८२ सीसी सिंगल–सिलिन्डर एयर–कुल्ड इन्जिन नै नयाँ भेरियन्टमा पाइने छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर तथा १४.६५ एनएम टर्क उत्पादन गर्छ । यसलाई ५–स्पीड गियरबक्ससँग जोडिएको छ ।

साथै, ब्रेक, अलोय ह्वील, च्यासिस, फ्युल ट्यांक, ट्यांक श्राउड, यूएसडी फोर्क, रियर मोनो–शक र अण्डरबेली एक्जस्ट पनि एथावतनै छन् । यसको सम्पूर्ण नयाँ जानकारी भने आधिकारिक रूपमा लन्चको समयमै खुल्नेछ ।


Back_to_top