काठमाडौं । नेपालमा इलेक्ट्रीक कारले ठूलो सफलता पाइसकेको छ । पछिल्लो ४ वर्ष निरन्तर ईभीले ‘डोमिनेट’ गरेको बजारमा हाइब्रिड कारहरूको आगमनले रोचकता थप्न लागेको हो ।
नेपालको अटोमोबाइल बजारमा प्लगइन हाइब्रिड कार यसअघि पनि आएको थियो । मित्सुविशी, बीएमडब्लू जस्ता ब्राण्डले प्लगइन हाइब्रिड कार विगतदेखि नै बिक्री गर्दै आएको थियो । तर, अहिले यो सेग्मेन्टमा डेन्जादेखि जेटोरसम्मका ब्राण्ड थपिएका छन् ।
ईआरईभीमा पहिलो पटक आइकार भी-२७ नेपाल प्रवेश गरेको छ । चलाउँदा ईभी तर चार्ज गर्न पेट्रोल इन्जिनको प्रयोग हुने यो टेक्नोलोजी नेपालको लागि भने विल्कुलै नयाँ हो । यसको प्रवेशले नेपालमा हाइब्रिड कार (न्यू इनर्जी भेहिकल) को बजार कता जाला भन्ने प्रश्न भने खडा गरेको देखिन्छ ।
नेपालको लागि कुन उपयुक्त ?
यदि, साँचै वातावरण प्रति उदार भएर न्यू इनर्जी भेहिकलमा जानु पर्छ भन्ने लागेको हो भने यी दुईमा प्लगइन हाइब्रिड उपयुक्त हुन्छ । यसलाई अवस्था गरेर स्वदेशकै बिजुलीबाट चार्ज गरेर आफ्नो दैनिकी चलाउन सकिन्छ ।
प्लगइन हाइब्रिड कारमा हाइवे वा लामो दुरी यात्रा गर्दा पेट्रोल इन्जिन प्रयोग गर्न सकिन्छ । त्यसैले रेन्ज पुग्दैन कि भन्ने समस्या आउँदैन । यसमा इलेक्ट्रीक मोटर तथा पेट्रोल इन्जिनको संयुक्त पावर पनि निकै राम्रो हुन्छ ।
लामो यात्रामा पेट्रोल जलाएर कार्बन उत्सर्जन गरे पनि दैनिक यात्रामा ईभीको प्रयोगले पुग्ने भएकाले प्रदूषण कम गर्छ । मूल्यका हिसाबले पेट्रोल एसयूभी र हाइब्रिडको उत्ति नै पर्न आउँछ ।
यही काममा ईआरईभीको प्रदूषण बढी हुन्छ । यसमा प्रयोग हुने इन्जिनले ब्याट्री चार्जरको काम गर्ने भएकोले प्रदूषण बढी हुन्छ । यसको इन्जिनले गाडीको चक्कामा पावर दिँदैन । तर, फुल ट्याङ्की इन्धनले रेन्ज भने बढाउँछ । औषतमा प्रतिलिटर पेट्रोल ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिन्छ । यसले ठूलो आर्थिक लाभ ईआरईभीले दिन्छ ।
गाडीको क्षमता र आफ्नो सहजताको हिसाबले यी दुवै टेक्नोलोजी नेपालको लागि ठिकठाक लाग्छन् । तर, तुलनात्मक रूपमा प्योर ब्याट्री इलेक्ट्रीक भेहिकलहरू सस्तो हुने भएकाले नेपाली उपभोक्ताको ध्यान ईभीमै बढी देखिन्छ ।
कठिन भूभागमा यात्रा गर्नु पर्ने र धेरै रेन्ज वा माइलेज खोज्ने उपभोक्ताको लागि प्लगइन हाइब्रिड र ईआरईभी उत्कृष्ट हुन सक्छ ।
सरकारी आँखामा कुन राम्रो ?
सरकारले लगाउने करले नै कुन राम्रो भन्ने देखाउँछ । सरकारको आँखाबाट हेर्दा प्लगइन हाइब्रिड राम्रो छ । यसमा स्वच्छ पूर्वाधार कर ‘फिक्स’ ६० प्रतिशत लाग्दै आएको छ ।
ईआरईभीमा भने इन्जिन क्षमताको आधारमै स्वच्छ पूर्वाधार निर्माण कर लाग्ने छ । फरक क्षमताको इन्जिनमा फरक दर लाग्छ । भन्सार भने दुवैमा समान ८० प्रतिशत कायम गरिएको छ ।
सडक निर्माण कर पनि समान नै लाग्छ । अहिलेसम्मको आधारमा प्लगइन हाइब्रिड कारलाई केही सुविधा हो कि जस्तो देखिन्छ । तर, त्यसको असर मूल्य निर्धारणमा ५ प्रतिशत हाराहारीको मात्रै पर्छ ।
पछिल्लो सयम विश्व बजारमा ईआरईभी सवारीको माग बढ्दो छ । प्राविधिक, आर्थिक र वातावरणीय हिसाबले पनि हाइब्रिड गाडी नेपालका लागि सर्वोत्कृष्ट विकल्प हो । तर सरकारी कर नीतिले यो ओझेलमा परेको छ । हाइब्रिड गाडीलाई पनि पेट्रोलरडिजेल गाडी सरह नै उच्च भन्सार तथा अन्तःशुल्क लगाउँदै मूल्य निकै महँगो पर्छ । मूल्कै कारण पहुँचभन्दा बाहिर छ । यदि, सरकारले हाइब्रिडमा कर छुट वा प्रोत्साहन नीति ल्याउने हो भने यो गाडी नेपालका लागि सबैभन्दा उपयुक्त विकल्प बन्नेछ ।


