काठमाडौं । विद्युतीय दुईपाँग्रे सवारी साधन ब्राण्ड याडियाले नेपालमा तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले याडियाको जीटी ७०, जीटी ८० र जीएस ७० गरी तीन मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले जीएस ७० को मूल्य २ लाख ३० हजार, जीटी ७० को ३ लाख ६५ हजार र जीटी ८० को ३ लाख ३० हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले रेगुलर प्रयोग, हाई पर्फमेन्स र लङ रेन्ज गरी तीन भेरियन्टमा स्कुटर ल्याएको हो । जीएस ७० मा २.८ किलोवाट क्षमताको पिक पावर भएको मोटर र २.१ किलोवाट क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । यो स्कुटरलाई फुलचार्ज गरेर १०५ किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । यो रेगुलर प्रयोगको लागि उपयुक्त स्कुटर हो ।
त्यस्तै, लङ रेन्ज मोडलमा जीटी ७० रहेको छ । यसमा ३.७ किलोवाट पिक पावर भएको मोटर छ भने, ५.७ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एकपटक फुल चार्ज गरेर २२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
त्यसैगरी, जीटी ८० मा भने पावरफुल ५ किलोवाट पिक पावर भएको मोटर र ३.६ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
याडियाको नयाँ लाइनअपमा ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड एसिस्ट, क्रुज कन्ट्रोल, डबल डिस्क ब्रेक लगायतका फिचर उपलब्ध छ । मोडल अनुसार टीएफटी डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, डबल ब्याट्री अप्सन लगायतका फिचर उपलब्ध छन् ।


