आयामले नेपाल ल्यायो डोङफेङका इलेक्ट्रीक बस, मूल्य सस्तो हुने

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ कम्पनी डोङफेङकबा इलेक्ट्रीक बस नेपाल ल्याएको छ ।

कम्पनीले डोङफेङका ७.२ मिटर लामा २६ देखि ३० सिटका बस नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार ती बस यही साउन २६ गतेदेखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने छ ।

नेपाल ल्याइएका दुई मोडलका ईभी बसको मूल्य नाइमामै घोषणा गरिने कम्पनीले जनाएको छ । यद्यपि, ती नयाँ बसको मूल्य हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै सस्तो हुने कम्पनीको भनाइ छ ।

यी बसमा १६० किलोवाट पिक पावर दिने पर्मानेन्ट म्यागनेट सिंक्रोनोअस मोटर छ । जसले अधिकतम १५०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यी बसमा १००.४६ किलोवाट आवर र १४० किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २५० र ३५० किमी सीएलटीसी रेन्ज दिन्छ ।

सरकारले ठूला ईभी प्राथमिकतामा राख्ने नीति बनाउन थालेको र बजारमा बढ्दो मागलाई मध्येनजर गर्दै कम्पनीले डोङफेङका बस नेपाल भित्र्याएको हो । निकट भविष्यमै ९ र १२ मिटर लामा ३८ र ५२ सिट क्षमताका ईभी नेपाल ल्याउने कम्पनीले जनाएको छ ।

डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले कार, बस, ट्रक, विशेष प्रयोजनका सवारी र अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ ।


Back_to_top