सडक परीक्षणमा देखियो टाटाको सबैभन्दा ठूलो ईभी

काठमाडौं । टाटा मोटर्सको फोर्टोफोलियोमा सबैभन्दा ठूलो सफारी ईभी सडक परीक्षणको क्रममा देखिएको छ । भारतीय सडकमा पूरै ढाकेर परीक्षण भइरहेको स्पाइ तस्बिर बाहिरिएको हो ।

टाटाले सफारी ईभी लन्च गर्ने आधिकारिक मिति घोषणा गरेको छैन् । तर, आगामी फेस्टिभ सिजनमा लन्च हुने सम्भावना धेरै छ । सफारी ईभी ह्यारियर ईभीभन्दा पनि अझ बढी फिचर प्याक्ड बनेर आउने अपेक्षा गरिएको छ ।

यसको क्याबिनमा सिएरा ईभीमा उपलब्ध गराइए जस्तै ट्रिपल स्क्रीन लेआउट पाउन सकिनेछ । जबकि टाटाको सबैभन्दा माथिल्लो लाइनअपमा रहेको ह्यारियर ईभीमा ड्युअल स्क्रिन लेआउट रहेको छ।

ट्रिपल स्क्रीन सेटअपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एउटा सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन र अगाडिको यात्रुका लागि छुट्टै डिस्प्ले समावेश हुन सक्छ। यद्यपि, टाटाले अझै यो फिचरको पुष्टि गरेको छैन।

सफारी ईभीले आफ्ना धेरैजसो प्रविधिहरू ह्यारियर ईभीसँग सेयर गर्ने अपेक्षा गरिएको छ । यद्यपि, यो तीन पङ्क्तिको एसयूभीलाई अझ बढी प्रिमियम बनाउन टाटाले केही थप फिचरहरू जोड्न सक्छ ।

अपेक्षित सुविधाहरूमा १४.५ इन्चको सामसुङ ओलेड इन्फोटेनमेन्ट डिस्प्ले, ५४० डिग्री क्यामेरा, डिजिटल आइआरभीएम, लेभल २ प्लस एडास, सेल्फ पार्किङ, समन मोड र धेरै टेरेन मोडहरू समावेश हुन सक्छन्।

यस इलेक्ट्रीक एसयूभीमा भीटुएल र भीटुभी सुविधा पनि हुन सक्छन् । टाटाको आर्केड डट ईभी एप सुइट पनि यस प्याकेजको एक भाग हुने अपेक्षा गरिएको छ।

टाटा सफारी ईभीले ह्यारियर ईभी जस्तै ब्याट्री विकल्पहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ । यो एसयूभी ६५ किलोवाट आवर र ७५ किलोवाट आवर ब्याट्री प्याकहरूमा उपलब्ध गराउन सकिन्छ । ड्युअल मोटर अल ह्वील ड्राइभ सेटअपको पनि अपेक्षा गरिएको छ । जसले अधिकतम ५०० न्युटनसम्म टर्क प्रदान गर्छ ।

ह्यारियर ईभीको ठूलो ब्याट्री भर्सनले ६२७ किमीसम्म रेन्ज दिन्छ । यद्यपि, सफारी ईभीको ठूलो आकार र तीन पङ्क्तिको लेआउटका कारण यसको दाबी गरिएको रेन्ज अलि कम हुन सक्छ ।

सफारी ईभीको डिजाइन र आकार हालको आइस मोडलसँग मिल्दोजुल्दो हुने अपेक्षा छ । यद्यपि, पेट्रोल र डिजेल भर्सनहरूबाट फरक देखाउन टाटाले यसमा धेरै ईभी विशिष्ट डिजाइन तत्वहरू जोड्नेछ।

टाटाले सफारी ईभीलाई थ्री रो सिटिङ, लामो रेन्ज र उन्नत फिचरहरूको संयोजनको कमप्लिट प्याकेजेको रूपमा बजारमा ल्याउन लागेको हो ।


Back_to_top