हिरोको पहिलो इलेक्ट्रीक मोटरसाइकल अर्को वर्ष आउने

काठमाडौं । भारतीय दुईपाँग्रे सवारी निर्माता हिरोको पहिलो इलेक्ट्रीक मोटरसाइकल २०२७ मा बजारमा आउने भएको छ ।

कम्पनीले गत वर्ष इक्मा अटो शो २०२५ मा कन्सेप्टका रूपमा देखाइएको हिरो युबेक्स र भीएक्सजेड इलेक्ट्रीक मोटरसाइकल अब अर्को वर्ष लन्च हुने कम्पनीले जनाएको हो ।

हिरो मोटोकर्पलेले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल ल्याउने तयारीलाई तीव्र बनाएको छ । यी दुवै ईभी मोटरसाइकल नयाँ प्लेटफर्ममा आधारित भएर उत्पादनमा जाने तयारी अवस्थामा छन् ।

हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी चिफ बिजनेस अफिसर कौशल्या नन्दकुमारले नयाँ इलेक्ट्रीक मोटरसाइकल आगामी वर्ष सार्वजनिक हुने जानकारी दिएकी हुन् ।

कम्पनीले युबेक्स र भीएक्सजेड दुवै इलेक्ट्रीक मोटरसाइकलका लागि भारतमा डिजाइन पेटेन्टसमेत दर्ता गरिसकेको छ । यीमध्ये कुनै एक वा दुवै मोडल सन् २०२७ मा बजारमा आउने बताइएको छ ।

हिरोको नयाँ इलेक्ट्रिक मोटरसाइकलहरू भिडा इलेक्ट्रीक स्कुटरको प्लेटफर्ममा आधारित हुने छैनन् । कम्पनीले यी मोटरसाइकलका लागि पूर्ण रूपमा नयाँ मोटरसाइकल विशेष प्लेटफर्म विकास गरेको जनाएको छ ।

भिडा स्कुटरबाट प्राप्त अनुभव र प्रविधिको प्रयोग गरिए पनि नयाँ प्लेटफर्म मोटरसाइकल प्रयोगकर्ताको आवश्यकता अनुसार तयार गरिएको छ । कम्पनीले मोटरसाइकलको उच्च प्रदर्शन, राम्रो राइडिङ अनुभव, लामो रेन्ज र उकालो चढ्ने क्षमता (ग्राडियबिलिटी) मा विशेष ध्यान दिएको छ ।

डिजाइन अनुसार हिरो युबेक्सलाई स्पोर्टी इलेक्ट्रिक स्ट्रिटफाइटर मोटरसाइकलको रूपमा विकास गरिएको देखिन्छ । मोटरसाइकलको स्पेसिफिकेसनका बारेमा कम्पनीले हालसम्म कुनै जानकारी बाहिर ल्याएको छैन । यो मोटरसाइकलमा राम्रो रेन्ज प्रदान गर्ने ब्याट्री सेटअप र हाई टर्क जेनेरेट गर्ने मोटर जडान गरिने कम्पनीले बताइसकेको छ ।

यसमा एक्सपोज्ड फ्रेम, आक्रामक डिजाइन, मोनो प्रोजेक्टर एलईडी हेडलाइट, एलईडी डीआरएल, मस्कुलर फ्युल ट्यांक डिजाइन, टेलिस्कोपिक फ्रन्ट फोर्क, अलोय ह्वील, सिंगल-पिस सिट, टायर हगर, आरामदायी राइडिङ पोस्चर दिइएको छ । साथै, कनेक्टेड फिचरसहितको डिजिटल क्लस्टर, टर्न-बाई-टर्न नेभिगेसन लगायतका सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

हिरोको भीएक्सजेड भने अमेरिकी इलेक्ट्रीक मोटरसाइकल निर्माता जिरोसँगको सहकार्यमा विकास भइरहेको मोडल हो । यसको भीएक्सजेड नामले हिरो र जिरोको सहकार्यलाई संकेत गर्ने बताइएको छ । पेटेन्ट अनुसार भीएक्सजेड जिरोको पुरानो प्लेटफर्ममा नभइ हिरोले विकास गरेको नयाँ प्लेटफर्ममा निर्माण भइरहेको छ ।

सेमी-फेयर्ड डिजाइनमा रहेको यो मोटरसाइकलमा आक्रामक फ्रन्ट डिजाइन, शार्प एलईडी हेडलाइट, यूएसडी फ्रन्ट फोर्क, पेटल डिस्क ब्रेक, बेल्ट ड्राइभ सिस्टम, स्प्लिट सिट, डिजिटल डिस्प्ले, रियर मोनोशक लगायतका फिचरहरु हुनेछन् । यसमा पनि हाई रेन्ज ब्याट्री सेटअप र पावरफुल मोटर दिइने छ । भीएक्सजेडलाई उच्च प्रदर्शन दिने आधुनिक स्ट्रिटफाइटर इलेक्ट्रीक मोटरसाइक्लका रूपमा बजारमा ल्याइने छ ।


Back_to_top