सन् २०२७ देखि सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने सीएटीएलको घोषणा

काठमाडौं । सोलिड स्टेट ब्याट्री उत्पादनमा चीनमा तीव्र प्रतिस्पर्धा देखिएको छ । यसैक्रममा विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले सन् २०२७ भित्रै सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने घोषणा गरेको छ ।

कम्पनीले सन् २०२७ सम्ममा आफ्ना सोलिड स्टेट ब्याट्री सेलहरूको साना स्तरमा परीक्षण उत्पादन सुरू गर्ने घोषणा गरेको हो ।

बीवाइडीले सन् २०२७ देखि सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने घोषणा गरेको केही दिनमै सीएटीएलले पनि आफूलाई प्रतिस्पर्धामा उभ्याएको हो ।

लिब्याट्री नेटकाका अनुसार लगानीकर्ताहरूसँगको हालैको प्रश्नोत्तर सत्रमा सीएटीएलका प्रतिनिधिहरूले कम्पनी सोलिड(स्टेट ब्याट्रीको निरन्तर अनुसन्धानमा प्रतिबद्ध रहेको र यस क्षेत्रमा उद्योगकै अग्रणी स्थानमा रहेको दाबी गरेका छन्।

कम्पनीले सन् २०२७ भित्रै पाइलट लाइन मार्फत परीक्षण उत्पादन सुरू गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

सोलिड स्टेट ब्याट्री विद्युतीय सवारीको लागि क्रान्तिकारी प्रविधि मानिएको छ । यो प्रविधिले ब्याट्रीको भण्डारण क्षमता बढाउने, तौल घटाउने र ब्याट्री अत्यधिक तातिएर हुने विस्फोट वा आगलागी जस्ता जोखिमलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

बीवाइडीले सोलिड स्टेट ब्याट्रीको सामग्री, रसायनशास्त्र, उत्पादन निर्देशिका र गुणस्तर नियन्त्रणसँग सम्बन्धित ६ वटा नयाँ पेटेन्ट दर्ता समेत गरिसकेको छ । बीवाइडीले परम्परागत तरल इलेक्ट्रोलाइट्सको सट्टा सोलिड ह्यालाइड र सल्फाइड मिसाएर डुअल इलेक्ट्रोलाइट क्याथोड प्रविधिमा ध्यान केन्द्रित गरिरहेको छ।

सोलिड स्टेट ब्याट्री जडान गरिएका एनईभी बजारमा आउन अझै केही वर्ष लाग्ने भए तापनि दुवै कम्पनीले यो प्रविधिलाई छिट्टै प्रयोगशालाबाट उत्पादन लाइनसम्म पुर्याउने दाबी गरेका छन्।

सीएटीएलको बजार अनुसन्धान अनुसार सोलिड स्टेट ब्याट्रीको ठूलो परिमाणमा उत्पादन गर्न कम्तीमा १० लाख सवारी साधनको माग हुनुपर्छ । जुन सन् २०३० अघि सम्भव देखिँदैन। प्राविधिक र आर्थिक चुनौतीहरूका कारण सुरूवातमा यो ब्याट्री करिब ३७ हजार अमेरिकी डलर वा सोभन्दा बढी मूल्यका प्रिमियम गाडीहरूमा मात्र प्रयोग हुने अनुमान गरिएको छ ।

सोलिड स्टेट ब्याट्रीको आगमनले साना ब्याट्री निर्माताहरूलाई पनि बजारमा आफ्नो स्थान बनाउने नयाँ अवसर सिर्जना गरेको छ। डोङफेङ, चांगान र प्योर लिथियम जस्ता कम्पनीहरू पनि यस दौडमा सामेल भएकाले भविष्यमा कसले सफलता हासिल गर्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।


Back_to_top