चीनमा निकै आकर्षक मूल्यमा प्रि-बुकिङ सुरू भयो ‘सिलायन-०८’

काठमाडौं । बीवाइडीले आफ्नो ओसन सिरिज अन्तर्गतको सबैभन्दा ठूलो एसयूभी सिलायन-०८ को चीनमा बुकिङ खुला गरेको छ । निकै प्रिमियम फिचरसहित आएको सिलायन-०८ को प्योर ईभी मोडलको मूल्य २ लाख ५० हजार युआन तोकिएको हो ।

आधुनिक टेक फिचर, तीव्र चार्जिङ क्षमता र पछाडिको पाङ्ग्रा घुम्ने प्रविधिसहित आएको सिलायन-०८ एसयूभीको प्लगइन हाइब्रिड संस्करण भने २ लाख ३० हजार चिनियाँ युआनबाटै बिक्री सुरु भएको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्यलाई चिनियाँ मिडियाले आकर्षक मानेका छन् । बीवाइडीको ओसन सिरिजको प्रमुख एसयूभीका रूपमा विकास गरिएको सिलायन-०८ को लम्बाइ ५११५ एमएम, चौडाइ १९९९ एमएम र उचाइ १८०० एमएम छ ।

विशाल साइजको एसयूभीमा ३०३० एमएम लामो ह्‌वीलवेस दिइएको छ । कम्पनीले चीनमा यसलाई ५ र ६ सिट अप्सनमा बिक्री गर्ने घोषणा गरेको हो ।

प्लगइन हाइब्रिड संस्करणमा १.५ लिटरको इन्जिन र विद्युतीय मोटर प्रयोग गरिएको छ । साथै, कम्पनीले ५५.८४ किलोवाट आवर एलएफपी ब्याट्री दिइएको छ । ब्याट्री साइज निकै ठूलो रह्‌को सिलायन-०८ एसयूभीको प्योर ईभी रेन्ज नै ४ सय किलोमिटर हाराहारी रहने बताइएको छ । यसमा अल्ट्रा फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ ।

प्योर ईभी मोडलमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । जहाँ ९२ किलोवाट आवर र ११५ किलोवाट आवरको दुई ब्याट्री छन् । तीव्र चार्जिङ मार्फत १० प्रतिशतबाट ९७ प्रतिशतसम्म ब्याट्री केवल ९ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । प्योर ब्याट्री इलेक्ट्रीकको रेन्ज ७१० देखि ९०० किलोमिटरसम्म रहने बताइएको छ ।

सिलायन-०८ मा पछाडिको पाङ्ग्रा घुम्ने प्रविधि र लिडारमा आधारित एडास फिचर उपलब्ध हुनेछ । यसले सहर तथा राजमार्गमा स्वचालित ड्राइभिङको मज्जा प्रदान गर्नेछ ।


Back_to_top