काठमाडौं । सरकारले नेपालमा इथानोल मिश्रित पेट्रोल बेच्ने तयारी गरिरहँदा सरोकारवालाहरूले भने हतारिन नहुने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा वक्ताहरूले यस्तो धारण राखेका हुन् ।
भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निलक स्ट्याण्डिङ समिटका अध्यक्ष डा. बलराज भनोटले इथानोलले पेट्रोलियम पदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुर्याउने भए पनि कार्यान्वयनमा ल्याउँदा विभिन्न व्यावहारिक तथा प्राविधिक पाटोहरूमा गम्भीरताका साथ विचार गर्नुपर्ने बताए ।
उनले नेपालमा हाल सचालनमा रहेका अधिकांश सवारी साधन इथानोल अनुकूल नरहेकाले तिनलाई १०० प्रतिशत पेट्रोल नै आवश्यक पर्ने बताए । यदि गैरअनुकूल सवारीमा इथानोल मिसाइएको इन्धन प्रयोग गरिएमा इन्जिनमा प्राविधिक समस्या देखिन सक्ने उनले बताए ।
‘नेपालमा हाल संचालनमा रहेका अधिकांश सवारी साधन इथानोल कम्प्लायन्ट छैनन् । तिनलाई १०० प्रतिशत पेट्रोल नै चाहिन्छ । यदि गैरअनुकूल सवारीमा इथानोल मिसाइएको इन्धन प्रयोग गरिएमा इन्जिनमा प्राविधिक समस्या देखिन सक्छ,’ उनले भने, ‘तसर्थ, भविष्यमा इथानोल वा ब्लेन्डेड इन्धन आयात गर्दा वा नेपालमै ब्लेन्ड गर्दा त्यस्ता सवारीसाधनका लागि छुट्टै पम्प वा इन्धनको व्यवस्था गर्नुपर्ने हुन्छ ।’
उनले इथानोल र पेट्रोल मिसाउँदा पानीको मात्रा मिसिन पुग्यो भने इन्धनमा ‘फेज सेपरेसन’ भएर इथानोल तल थिग्रिने जोखिम रहने बताए । यसले गर्दा सवारीको इन्जिनमा गम्भीर असर पर्न सक्ने भएकाले पम्पहरूमा नियमित रूपमा डिपिस्टक वा अन्य प्रविधिमार्फत गुणस्तर अडिट गर्ने व्यवस्था मिलाउन अति आवश्यक रहेको उनले बताए ।
उनले नेपालमा इथानोल मिश्रण गर्दा सुरुमा थोरैबाट सुरु गर्न सुझाव दिए । भारतमा सन् २००६ मा ५ प्रतिशतबाट सुरु गरिएको इथानोल ब्लेन्डिङ सन् २०१० बाट १० प्रतिशत र हाल २० प्रतिशत (ई २०) पुर्याइएको जानकारी दिए । तर, तीव्र रूपमा इथानोलको मात्रा बढाउँदा पुराना सवारी साधन र इन्धन आपूर्ति प्रणालीमा गम्भीर समस्याहरू देखिएको उनले औंल्याए ।
उनले पुराना गाडीका इन्जिन र रबररइलास्टिकका पार्टपुर्जाहरू उच्च इथानोलयुक्त इन्धनका लागि उपयुक्त नहुने बताए । यसले इन्धन चुहावट हुने, गाडी स्टार्ट हुन गाह्रो हुने र माइलेज ५ देखि ६ प्रतिशतसम्म घट्ने समस्या आउने देखिएको उनको भनाइ छ ।
उनले आयातित ब्लेन्डेड इन्धन प्रयोग गर्ने वा नेपालमै इन्धन र इथानोल मिसाएर ब्लेन्डिङ गर्ने भन्ने विषयमा स्पष्ट लागत विश्लेषण गर्न आवश्यक रहेको बताए । यदि नेपालमा आयात गरिएको इथानोल कम्प्लायन्ट छैन र त्यसमा जबर्जस्ती इथानोल मिसाइएमा सवारीसाधनका इन्जिनहरूमा नकारात्मक असर पर्ने उनको भनाइ छ । ‘सरकारले इथानोल मिश्रणको नीति लागु गर्नुपूर्व सवारीसाधनहरूले तोकिएको मापदण्ड ई १० वा ई २० कम्प्लायन्ट पालना गरेका छन् वा छैनन् भनी गहिरो अध्ययन र गृहकार्य गर्नुपर्ने हुन्छउनले भने ।

आटोमोबाइल व्यवसायी एवम् नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा इथानोल मिश्रणको नीति लागू गर्दा सवारीसाधनको अनुकूलता र बजारको मागलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
सन् २०१० पछिका अधिकांश भारतीय सवारीहरू ई १० इन्धनका लागि उपयुक्त भए पनि नेपालमा अन्य देशका सवारीसाधनहरू पनि भित्रिने हुनाले सबै गाडीहरू इथानोलयुक्त इन्धनका लागि तयार भइनसकेको उनले बताए ।
‘भारतबाट आयात हुने सन् २०१० पछि बनेका सवारी यथानोलयुक्त छन् । तर, भारत बाहेक देशबाट आउने सवारी इथानोल युत्तः नहुनसक्छन,’ उनले भने, ‘तसर्थ, सरकारले ब्लेन्डेड इन्धन मात्र अनिवार्य गर्नुको सट्टा ब्लेन्डेड र शुद्ध दुवै प्रकारको इन्धन उपलब्ध गराउने विकल्प दिनुपर्छ । जसले गर्दा पुराना वा असहज सवारी भएका उपभोक्ताहरूले अनावश्यक आर्थिक भार व्यहोर्नु पर्दैन ।’
उनले नेपालमा इथानोल उत्पादन हुने इथानले मागको करिब ३.५ प्रतिशत मात्र धान्न सक्ने बताए । ‘नेपालमा वार्षिक करिब २३० लाख क्विन्टल उखु उत्पादन हुन्छ । यसबाट करिब १० करोड क्विन्टल मोलासेस प्राप्त हुन सक्छ । जसबाट करिब २ देखि २.५ करोड लिटर इथानोल उत्पादन गर्न सकिन्छ, जसले नेपालको दैनिक पेट्रोल खपतको १० प्रतिशतको आधारमा करिब ३.५ प्रतिशतसम्म माग धान्न सक्ने देखिन्छ,’ उनले भने ।
उनले घरेलु उत्पादनलाई प्रभावकारी बनाउन र उत्पादकहरूलाई प्रोत्साहन गर्न स्पष्ट मूल्य निर्धारण, दीर्घकालीन खरिद सम्झौता र नियमित गुणस्तर अडिटको व्यवस्था गर्न अति आवश्यक रहेको उनले बताए ।
अटो पत्रकार संघ (जाम)का निवर्तमान अध्यक्ष सागर गजुरेलले नेपालमा २० वर्षदेखि पेट्रोलमा इथानोल मिसाउने विषय चर्चामा रहे पनि सरकारले हालै आदेश स्वीकृत गर्दै बाटो खुलाएको बताए । उनले इथानोलबाट मिश्रणबाट पेट्रोल बचत हुने देखिए पनि पर्याप्त मात्रमा कच्चा पद्धार्थ उपलब्ध हुनेमा आंशका गरे ।
‘इथानोल उत्पादनको हालको मुख्य स्रोत चिनी मिलबाट उत्पादन हुने मोलासिस हो । चिनी नै आयात गर्नुपर्ने देशमा इथानोल उत्पादन चाहिँ कति हुन्छ भन्ने हो । त्यसैले वैकल्पिक स्रोत खोजी गर्नुपर्ने हुन्छ । त्यसको लागि नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली लगायत प्रयोग गर्न सकिन्छ । तर, प्रशोधन सहज छैन,’ उनले भने ।
नेपाल आयल निगमले सुरुमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने घोषणा गरेको छ । यसलाई उपभोक्ताको नजरबाट पनि अध्ययन गर्नुपर्ने उनले बताए ।
‘पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने भनिएको छ । यसलाई उपभोक्ताको साइडबाट पनि हेर्नुपर्छ । पुराना नेपाल स्टायण्डर्ड ३ वा ४ सम्मका गाडीलाई यसको फाइदा धेरै हुँदैन । माइलेज घट्छ, इन्जिनमा पानीको मात्रा बढ्ने सम्भावना रहन्छ,’ उनले भने, ’तर, सकारात्मक कुरा प्रदूषण कम गर्न सहयोग पुग्न सक्छ ।’
उनले इथानोल मिश्रण गर्दा यसको लाभ मूल्यले निर्धारण गर्ने बताए । इथानोलको मूल्य पेट्रोलभन्दा महँगो भएमा लाभदायक नहुने उनको भनाइ छ । ‘यहाँ बुझ्नु पर्ने कुरा इथानोलको मूल्य हो । यदि, पेट्रोलभन्दा महँगो इथानोल पर्न गए के गर्ने,’ उनले भने ।
सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले नेपालमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीति लिँदा मुख्य रूपमा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखिएको बताए । उनले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकियो भने कुल आयातलाई १० प्रतिशत कम गर्न सकने उनको भनाइ छ ।
नेपालमै इथानोल उत्पादन र मिश्रण गर्न सकिएमा देशमा कृषिमा आधारित नयाँ उद्योग तथा आर्थिक गतिविधिहरूलाई समेत टेवा पुर्याउने उनले बताए । यद्यपि, आयातित ब्लेन्डेड इन्धन प्रयोग गर्ने वा नेपालमै इन्धन र इथानोल मिसाएर ब्लेन्डिङ गर्ने भन्ने विषयमा स्पष्ट लागत विश्लेषण गर्न आवश्यक उनले बताए ।


