मध्य पहाडी राजमार्गमा बनेका पुलको गुणस्तरमा समस्या

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत रहेका पुलहरुको गुणस्तरमा समस्या देखिएको छ । विकास समितिको टोलीले गरेको स्थलगत भ्रमणमा सो राजमार्गमा निर्माण भएको पुलको गुणस्तरमा समस्या देखिएको पाइएको हो । 

समितिको टोलीले गरेको भ्रमणका क्रममा निर्माण व्यवसायीले कटिङ/फिलिङका क्रममा उत्पन्न भएको माटो तथा ढुंगाको व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको समेत देखिएको छ । 

यतिमात्र नभएर मध्य पहाडी राजमार्ग तोकिएको समयमा सम्पन्न हुने विषयमै आशंका उत्पन्न भएको समितिको अध्ययनले देखाएको छ । यसको सुधारका लागि निरन्तर अनुगमन तथा आवश्यक निर्देशन दिइरहनु पर्ने निष्कर्ष भ्रमण टोलीले निकालेको छ । 

हाल मध्य पहाडी राजमार्गमा १३३ वटा पुल निर्माण गर्नु पर्नेमा ७० वटा सम्पन्न भइसकेको छ । यो वर्ष १६ वटा पुल निर्माण सक्ने लक्ष्य लिएको छ । ३५ वटा मध्ये १८ वटा डिजाइन भएर ठेक्काको चरणमा छन् १७ वटा डिजाइन हुने क्रममा रहेको मध्य पहाडी राजमार्ग योजना निर्देशक दिपक केसीले जानकारी दिए । 

मध्यपहाडी राजमार्ग कुल १ हजार ८ सय ७९ किलोमिटर लामो रहेको छ । राष्ट्रिय गौरव आयोजना अन्तर्गत रहेको उक्त राजमार्ग निर्माण २०६४/६५ देखि सुरु भएको हो । २०७४/७५ सम्ममा सम्पन्न गर्ने लक्ष्य साथ सुरु भएको सो राजमार्ग समयमा सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरि २०७७/७८ सालसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । मध्य पहाडी राजमार्गले २६ वटा जिल्लालाई जोड्छ । 


Back_to_top