नयाँ अवतार र ठूलो साइजमा आयो नयाँ टक्सन, फिचर पनि थुप्रै

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी टक्सनको पाँचौँ पुस्ता (२०२७ मोडल) सार्वजनिक गरेको छ ।

कम्पनीले अघिल्लो पुस्ता बजारमा ल्याएको ६ वर्षपछि टक्सनलाई पूर्ण रूपमा नयाँ डिजाइन, फराकिलो क्याबिन र अत्याधुनिक प्रविधिहरूका साथ बजारमा ल्याएको हो ।

नयाँ टक्सनको बाहिरी बनावटमा व्यापक फेरबदल गरिएको छ । पुराना तिखा रेखा र प्यानलहरूको सट्टा यसमा बक्सी र बलियो लुक्स दिइएको छ। गाडीको अगाडिको भागमा कालो ग्रिल र त्यसको माथि पातलो फुल विथ लाइट बार राखिएको छ।

कुनामा रहेका ठाढा डेटाइम रनिङ लाइटहरू वास्तुशास्त्रबाट प्रेरित ‘एच एज लाइटिंग’ प्रविधिमा आधारित छन् । हुन्डाईका अनुसार यो अगाडिको लाइट ‘आर्ट अफ स्टिल’ डिजाइन सिद्धान्तमा बनेको छ, जहाँ मुख्य प्रकाश स्रोत बाहिरबाट सीधा नदेखिएर यसको सतह निकै आकर्षक देखिन्छ।

नयाँ टक्सनको पछाडि टेलगेटभरि फैलिएको लाइट बार दिइएको छ । जसको दुवैतिर ठाडो रातो लाइट र बिचमा अंग्रेजीमा ‘टक्सन’ अक्षरको माथि हुन्डाईको लोगो राखिएको छ।

नयाँ टक्सन अघिल्लो मोडलभन्दा ठूलो छ । यसको कुल लम्बाइ ४,७०० एमएम, चौडाइ १,९०५ एमएम र उचाइ १,६८५ एमएम छ । यसमा २,७८५ एमएमको ह्वीलबेस पाउन सकिन्छ । अघिल्लो मोडलको तुलनामा यसको लम्बाइ ६० एमएम, ह्वीलबेस ३० एमएम र चौडाइ ४० एमएमले बढेको छ।

ह्वीबेस लम्बिएसँगै यसको दोस्रो लहरका यात्रुहरूका लागि हेडरुम २९ एमएमले बढेर १,०३१ एमएम पुगेको छ । साथै, यात्रुहरूलाई सजिलै छिर्न र निस्कन सघाउन पछाडिका ढोकाहरू ८३ डिग्रीसम्म खुल्ने बनाइएको छ ।

यसको क्याबिन निकै आकर्षक र फिचर लोडेड छ । क्याबिनमा एउटै फ्रेमभित्र जोडिएका दुईवटा ठूला डिजिटल स्क्रीनहरू छन् । चालकका लागि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र दायँतिर नेभिगेसन तथा मिडियाका लागि ठूलो इन्फोटेनमेन्ट टचस्क्रीन उपलब्ध छ।

टु स्पोक स्टेयरिङ ह्वीलमा भौतिक बटनहरू छन् । ड्यासबोर्ड र ढोकाका प्यानलहरूमा सुन्तला रङको एम्बियन्ट लाइटिङ दिइएको छ भने सिट र ढोकामा हल्का रङको छाला प्रयोग गरिएको छ। यो गाडी आठवटा बाहिरी रङहरूमा उपलब्ध हुनेछ । जसमध्ये पाँचवटा नयाँ हुन् ।

साहसिक यात्रा मन पराउनेहरूका लागि थप रफ डिजाइन भएको एक्सअरटी ट्रिम पनि समावेश गरिएको छ। हुन्डाईले इन्जिनको विवरण भने खुलाएको छैन । तर अघिल्लो पुस्ताको जस्तै यसमा पनि हाइब्रिड र नन हाइब्रिड दुवै विकल्प निरन्तर रहने अनुमान छ ।


Back_to_top