काठमाडौं । सिद्धार्थ राजमार्ग (बुुटवल-पोखरा खण्ड) सुधार आयोजनाको पूर्वतयारीका लागि २० लाख अमेरिकडी डलर (करिब साढे ३० करोड रुपैयाँ) अनुदान प्राप्त भएको छ ।
एसियाली पूर्वाधार लगानी बैंकले उक्त सडक स्तरोन्नतिको पूर्वतयारीका लागि २० लाख डलर उपलब्ध गराएको हो । सडक विभाग अन्तर्गत विकास सहयोग कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त रकम परियोजना तयारी विशेष कोष (पीपीएसएफ) अन्तर्गत प्राप्त भएको हो ।
उक्त रकम सिद्धार्थ राजमार्गको बुटवलदेखि पोखरासम्मको खण्डलाई आधुनिक, सुरक्षित र फराकिलो बनाउने कार्यको पूर्वतयारीमा खर्च गरिने महाशाखाले जनाएको छ ।
आयोजनाको विस्तृत अध्ययन तथा डिजाइनका लागि अन्तर्राष्ट्रिय स्तरका परामर्शदाता छनोट गर्न सडक विभागले सूचना समेत जारी गरेको छ ।
सिद्धार्थ राजमार्ग स्तरोन्नतिको पूवतयारीका मुख्य काम दुई खण्डमा विभाजन गरिएको छ । पहिलो चरणमा आयोजनाको विस्तृत आयोजना प्रतिवेन (डीपीआर) इन्जिनियरिङ सर्वेक्षण, डिजाइन, रेखांकन, लागत अनुमान र बोलपत्र सम्बन्धी कागजात तयार पारिनेछ ।
आयोजनाभित्र पर्ने सुरुङमार्ग र ठूला पुल (भायडक्ट) निर्माणका लागि ईपीसी मोडल अपनाइनेछ भने सडक निर्माणका लागि ‘आइटम रेट’ ठेक्का प्रणाली लागू गरिनेछ।
दोस्रो चरणमा वातावरणीय र सामाजिक प्रभाव मूल्यांकन (ईएसआइए), वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना (ईएसएमपी), पुनःस्थापना योजना (आरपी), सरोकारवाला सहभागिता योजना (एसईपी) लगायतका प्रतिवेदनहरू तयार गरिने छ ।
यसबाट परियोजना निर्माणका क्रममा स्थानीय बासिन्दा, वातावरण, श्रमिक तथा अन्य सरोकारवालामा पर्न सक्ने प्रभाव पहिचान गरी त्यसको व्यवस्थापन गर्ने आधार तयार हुनेछ । यी सबै काम एशियाली बैंकको वातावरणीय तथा सामाजिक मानक र नेपालको राष्ट्रिय कानुन अनुरूप हुनेछन् ।
द्रुतमार्गको रुपमा विकास गरिने यो सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार गरी वन मन्त्रालयले सार्वजनिक समेत गरिसकेको छ । प्रतिवेदन अनुसार हाल कुल १५७ किलोमिटर लम्बाइ रहेको यो सडक स्तारोन्नतिपछि दुरी ४५ किमी छोटिएर ११२ किलोमिटरमा झर्नेछ ।
सडकको दुरी छोट्याउन उक्त राजमार्गमा सुरुङमार्ग, केही ठाउँमा नयाँ सडक, भायडक्ट पुल लगायत निर्माण गरिने उल्लेख गरिएको छ । अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, २.९५ किलोमिटर भायडक्ट पुल, ०.८६ किलोमिटर पुल, ११.७ किलोमिटर नयाँ सडक र ७४ किलोमिटर स्तरोन्नति गर्ने योजना छ ।
१५७ किमी सडक स्तरोन्नति गर्न १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको हो । उक्त सडकको अल्पकालीन र दीर्घकालीन सुधारका लागि प्रस्ताव गरिएको छ ।
आयोजनाको अल्पकालीन सुधार अन्तर्गत सडक निर्माणमा १० अर्ब ३८ करोड ७० लाख र दीर्घकालीन विकल्प (भायाडक्ट, सुरुङ)को ९ अर्ब ३७ करोड २० लाख लाग्ने अनुमान गरिएके छ ।
अल्पकालीन सुधारअन्तर्गत विकल्पका रूपमा सडकखण्डलाई सबै मौसममा सुचारु रहने डबल बिटुमिनको सर्फेस टिट्रमेन्ट मापदण्डअनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गरिने भएको छ ।
२०२८ सालमा निर्माण सकिएको उक्त सडक ५४ वर्षपछि स्तरोन्नति गर्न लागिएको हो । हाल साढे ५ मिटरदेखि ६ मिटर चौडाइ रहेको यस सडकलाई अब कम्तीमा ७ मिटर क्यारिजवे विथ, सडकको दुवैतर्फ १.५/१.५ मिटरको सोल्डर विथसहित १० मिटर फराकिलो बनाउने प्रस्ताव गरिएको छ । साथै, १ मिटरको नाला पनि बनाइने छ । आयोजनाको निर्माण अवधि ४ वर्ष रहेको छ ।
प्रतिवेदन अनुसार सडक विस्तारका क्रममा ५४.१२ हेक्टर जग्गा आवश्यक पर्नेछ । यस अन्तर्गत ४१.४२ हेक्टर खेतीयोग्य जमिन र १२.१८ हेक्टर वन क्षेत्र रहेको छ । आयोजनाका कारण २ हजार ९८२ वटा रूख काटिनेछन् भने ३५५ घरधुरी प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा र १३ वटा मठमन्दिरमा क्षति पुग्ने अनुमान गरिएको छ ।
अहिले सिद्धार्थ राजमार्ग हुँदै पोखरा बुटवल यात्रा गर्न करिब ६ घण्टा लाग्छ । तर, स्तरोन्नतिपछि यात्रा समय साढे २ घण्टामा झर्ने अध्ययनले देखाएको छ ।


