काठमाडौं । अल्ट्रा लग्जरी कार निर्माता कम्पनी बेन्टलेले आफ्नो पहिलो विद्युतीय एसयूभी ‘टोरकल’मा वातावरणमैत्री र दिगो सामाग्रीको प्रयोग गर्दै नयाँ प्रयोग गरेको छ।
सामान्यतया विलासी कारमा लेदर प्रयोग हुने गरे पनि बेन्टलेले भने टोरकल ईभीमा पहिलो पटक उच्च गुणस्तरको भेडाको ऊन (मेरिनो वुल) र पुनःप्रशोधित काठको प्रयोग गरेको हो ।
दिगो र वातावरणममैत्री सामाग्रीबाट स्टाइलिस र विलासी इन्टेरियर बनाउने बेन्टले पहिलो कम्पनी होइन । तर, टोरकल ईभीमा विश्वकै सबैभन्दा विलासी सामाग्रीहरू मध्ये एक मेरिनो वुल प्रयोग गर्ने पहिलो कम्पनी बनेको छ ।
निरन्तरको घर्षण र प्रयोगले चाँडै खिइने भएकाले उत्पादक कम्पनीहरूले गाडीको इन्टेरियरमा ऊनको प्रयोग सहज मानिँदैन । यो स्वीटर लगायत कपडामा लागि उत्कृष्ट हुन्छ । तर, यो प्राकृतिक, पुनः उत्पादन गर्न सकिने र जनावरलाई कुनै हानि नपुर्याई प्राप्त हुने भएकाले यसलाई कारमा प्रयोग गर्ने प्रविधि विकास गरिएको बेन्टलेले जनाएको छ ।
यसका लागि बेन्टलेले इङ्ल्यान्डको १८औँ शताब्दी पुरानो कपडा निर्माता कम्पनी ‘फक्स ब्रदर्स’सँग सहकार्य गर्दै १०० प्रतिशत मेरिनो वुलबाट बनेको अटोमोटिभ कपडा तयार पारेको छ । यो ‘रेस्पोन्सिबल वुल स्ट्याण्डर्ड’बाट प्रमाणित कारका लागि निर्मित पहिलो ऊन कपडा समेत बनेको छ।
बेन्टलेले सार्वजनिक गरेका केही टिजर तस्बिरहरूमा यो नयाँ कपडा गाडीको ढोकामा प्रयोग भएको देखिन्छ । तर, यो सिटमा कसरी समायोजन गरिनेछ भन्ने पूर्ण विवरण आउन बाँकी छ ।
त्यस्तै, कारको भित्री सजावटका लागि बेन्टलेले ‘ओम्ब्रे भेनियरु’ नाम दिइएको काठ प्रयोग गरेको छ। यो दिगो रूपमा संकलन गरिएको ओखरको काठका टुक्राहरू र पुनःप्रशोधित कागजातलाई मिसाएर तयार पारिएको हो। करिब १ हजार तहहरूलाई एकापसमा थिचेर १ मिलिमिटरभन्दा पनि पातलो बनाएर यसलाई गाडीमा सजाइएको छ ।
वातावरण संरक्षणप्रतिको दायित्वलाई ध्यानमा राख्दै तयार पारिएको यो गाडीले अटोमोबाइल क्षेत्रमा दिगो विलासिताको नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ ।


