चीनमा टेस्लासहित आधा दर्जन बढी ब्राण्डका ४३ लाख कार रिकल

काठमाडौं । चीनमा सवारी साधनको इतिहासकै सबैभन्दा ठूलो रिकल घोषणा गरिएको छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आधादर्जन बढी ब्राण्डले ४३ लाख बढी कार रिकल गर्ने निर्णय गरेका हुन् ।

चीनको बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)का अनुसार संकटकालीन अवस्थामा प्रयोग गरिने मेकानिकल ढोका खोल्ने ह्याण्डल (इमर्जेन्सी रिलिज) सँग सम्बन्धित विषयका कारण ती कारहरू रिकल गरिएको हो ।

ती कारमा प्रयोग गरिएका डोर ह्याण्डलहरूको रङ गाडीको भित्री बनावटसँग मिल्दोजुल्दो भएकाले गम्भीर दुर्घटना भई गाडीको विद्युतीय प्रणाली बन्द हुँदा यात्रुहरूले त्यसलाई तुरुन्त पहिचान गर्न र प्रयोग गर्न कठिन हुने पाइएको छ । यसले गर्दा यात्रुहरू भित्रै थुनिन सक्ने वा बाहिरबाट हुने उद्धार कार्यमा ढिलाइ हुने जोखिम बढेकाले रिकल आह्वान गरिएको हो ।

चिनियाँ संचार माध्यम सीएनईभी पोस्टका अनुसार टेस्ला, साओमी, लीपमोटर, एक्स्पेङ, चेरी, डोङफेङ, एफएडब्लू लगायत ब्राण्डले रिकल घोषणा गरेका हुन् ।

जसमा अमेरिकी ब्राण्ड टेस्लाका सबैभन्दा धेरै २९ लाख ७५ हजार ९१० कार रहेका छन् । टेस्लाले आगामी सेप्टेम्बर २५ देखि लागू हुने गरी रिकल गरेको हो । टेस्लाका चीन्मा बनेकार आयात गरिएका मोडल थ्री, मोडल एक्स र मोडल एस रिकल गरिएके हो । जसमा चीनमै बनेका ९,७३,१५६ मोडल ३ र १९,५६,७१३ मोडल वाई परेका छन्।

आयातित मोडलहरूमा ३५,५९० मोडल ३, ८,३२८ मोडल एक्स र २,१२३ मोडल एस छन् । टेस्लाले यी कारहरूमा निःशुल्क चेतावनी लेबलहरू थप्नेछ र दुर्घटनापछि झ्याल तल झर्ने रणनीति थप्न ओटीएमार्फत झ्याल नियन्त्रण सफ्टवेयर अपडेट गर्ने जनाएको छ ।

त्यस्तै, साओमीले २०२४ एसयू ७ सिरिजका ३ लाख ९० हजार ४३५ युनिट, लीपमोटरका सी ११ र सी ०१ गरी ३ लाख ७१ हजार २००, एक्सपेङले २ लाख ६४ हजार ८४२ गाडीहरू रिकल गरेको छ । एक्सपेङका १ लाख ३४ हजार ५८८ युनिट जी सिक्स, ९४ हजार ६८८ युनिट पी ७ र ३ हजार ५६६ युनिट एक्स ९ छन् ।

त्यस्तै, जिलीको जिकरले अगस्ट २४ देखि ००७ र एक्स मोडलका ९२ हजार ६५८ थान गाडीहरू फिर्ता बोलाउँदैछ। चेरीले सेप्टेम्बर १८ देखि ५७ हजार ६८८ थान आईकार ०३ र १० हजार ८०० थान फुलविन एक्स ३ फिर्ता बोलाउँदैछ ।

त्यस्तै, डोङफेङले नामी ०६, इओलोस एल८, ईपाई००७ र ईपाई ००८ गरी ५३ हजार ४५२ युनिट, बीएआईसी ब्लूपार्क म्याग्नाले ४६ हजार ८५० युनिट, एफएडब्ल्यूले ७ हजार ८७३ थान ईएच ७ र ४ हजार ३५ थान त्याङगोङ ०८ रिकल गरेको छ ।

सवारी निर्माता कम्पनीहरूले रिकल गरिएका गाडीमा निःशुल्क चेतावनी लेबलहरू थप्ने, ढोकाका कभरहरू फेर्ने र दुर्घटनापछि स्वतः झ्याल तल झर्ने सफ्टवेयर अपडेट (ओटीए) उपलब्ध गराउने जनाएका छन्।

चीनले कारको ढोकाका ह्याण्डलहरूको नियमन कडा पारिरहेका बेला यो फिर्ता अभियान आएको हो । अनिवार्य राष्ट्रिय मापदण्ड जीबी ४८००१-२०२६ यसै वर्षको फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । यो नयाँ नियम सन् २०२७ जनवरी १ देखि नयाँ मोडलहरूका लागि लागू हुनेछ।

यो मापदण्डले सबै ढोकाहरूमा मेकानिकल रूपमा खोल्ने संयन्त्र हुनुपर्ने व्यवस्था अनिवार्य गरेको छ । जसले पूर्ण रूपमा इलेक्ट्रोनिक लुकेका ढोकाका ह्याण्डलहरूको अन्त्य गरिदिएको छ। बिक्रीमा आइसकेका मोडलहरूका लागि जनवरी २०२९ सम्म २ वर्षको सङ्क्रमणकालीन अवधि दिइएको छ । गम्भीर दुर्घटनापछि ढोका खोल्न नसकिएका धेरै घटनाहरूका कारण यो नियामक परिवर्तन भएको हो ।


Back_to_top