बाढीले बगायो ८०० बढी ईभी र कन्टेनर

काठमाडौं । बुधबार बिहान तिब्बततर्फबाट एक्कासी आएको बाढीले ८०० बढी विद्युतीय कार र कन्टेनर बगाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार क्षेत्र र आसपासमा रहेका ७०० बढी विद्युतीय कार र १०० बढी कन्टेनर बगाएको हो ।

आधिकारिक तथ्यांक नआए पनि अटोमोबाइल व्यवसायीहरुका अनुसार ७०० बढी कार बगाएको हो । व्यवसायीहरूले चाडपर्वलाई लक्षित गरी भित्र्याउने क्रममा रहेका बाढीले सखाप पारेको हो ।

बाढीले बीवाइडीका मात्रै २०० युनिट बढी कार बगाएको बताइएकाे छ । त्यस्तै, एमजी, वुलिङ, ओमोडा, जेको, आइकार, बीएआइसी, आर्कफक्स, फोटोन, स्काइवेल लगायत ब्राण्डका करिब ५०० कार बगाएको हो । जसबाट अटो व्यवसायीले अर्बौं रुपैयाँको क्षति व्यहोर्नु परेको छ ।

गत नाइमा मोबिलिटी एक्स्पो र जारी नाडा अटो शोमा आउने बुकिङलाई लक्षित गरी व्यवसायीले ठूलो संख्यामा कार आयात गरेका थिए । केही कार भन्सार जाँचपास समेत भइसकेका थिए भने केही रसुवा भन्सार यार्ड, सडक आसपासका क्षेत्रमा थिए ।

चाडवाडैक मुखमा प्राकृतिक विपद्ले अटो क्षेत्रमा ठूलो क्षति पुर्याएपछि अटो व्यवसायी निरास बनेका छन् । ल्याउँदै गरेका कार बगाएसँगै बुकिङ गरेका ग्राहकलाई समयमै डेलिभरी दिन नसक्ने र अब फेरि अर्कै बाटो हुँदै गाडी ल्याउनुपर्ने बाध्यता भएको छ ।

त्यस्तै, बाढीले चीनबाट सामान ढुवानी गर्ने १०० बढी कन्टेनर बगाएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले रसुवागढी भन्सार यार्डमा रहेको २०० बढी कन्टेनर सामान बगाएको बताए । साथै उनले भन्सार पास भएर रोकिएका ६० बढी कन्टेनर बगाएको बताए ।

तीबाहेक पनि कयौं संख्यामा रित्ता कन्टेनर बगाएको उनले बताए । ‘ठ्याक्कै यति नै संख्यामा कन्टेनर बगायो भन्ने तथ्यांक आइसकेको छैन । रसुवागढी भन्सार यार्डमा रहेका २०० देख २५० कन्टेनर सामान बगाएको अनुमान छ,’ उनले मेरोअटोसँग भने, ‘रित्तै रोकिएर बसेका र सामान लिन गएका अरु धेरै कन्टेनर बगाएको छ ।’ चाडपर्वको नजिकिँदै गर्दा व्यवसायीले अर्बौं रुपैयाँको क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

यी बाहेक पनि बाढीले सयौं संख्यामा निजी कार, मोटरसाइकल, स्कुटर, जलविदुत् आयोजनाको पिकअप, ट्रक, एस्काभेटर लगायत सवारी बगाएको छ ।


Back_to_top