काठमाडौं । लामो समयदेखि नयाँ उत्पादनको अभाव महसुस गरिरहेको यामाहा नेपालले नाडा अटो शो २०२६ लाई आफ्नो उत्पादन लाइनअप पुनः मजबुत बनाउने अवसरका रूपमा उपयोग गरेको देखिन्छ ।
यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले आफ्नो लोकप्रिय मोडलहरूलाई नयाँ प्रविधि र डिजाइनसहित पुनः बजारमा ल्याएको छ । साथै, उपभोक्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेको नयाँ मोटरसाइकल पनि ल्याएको हो ।
यामाहा नेपालका सीईओ दीपककुमार अग्रवालका अनुसार कम्पनीले यसपटक प्रोडक्ट लाइनअप मात्रै बढाएको होइन, ग्राहकको फरक-फरक आवश्यकता र बजेटलाई ध्यानमा राखेर नयाँ उत्पादन छनोट गरेको हो ।
‘लामो समयदेखि नयाँ प्रोडक्ट ल्याउन सकिएको थिएन । अहिले केही प्रोडक्ट अपग्रेड गरेर ल्याएका छौं भने विल्कुलै नयाँ मोडल पनि थपेका छौं । यसले हाम्रो लाइनअपलाई फेरि बलियो बनाउनेछ,’ सीईओ अग्रवालले भने ।

नयाँ स्वरूपमा फर्कियो फसिनो
यामाहाले करिब तीन वर्षअघि बजारबाट हटेको फसिनोलाई पुनः नयाँ स्वरूपमा ल्याएको छ । नेपालमा स्थापित मोडलको रूपमा चिनिने फसिनोलाई कम्पनीले यसपटक हाइब्रिड टेक्नोलोजीसहित ल्याएको हो ।
‘फसिनो आफैंमा नेपालमा स्थापित ब्रान्ड थियो । अहिले परिमार्जित डिजाइन र हाइब्रिड टेक्नोलोजीसहित आएको छ । यसले मोर्डन र स्टाइलिस स्कुटर खोज्नेहरूलाई उत्कृष्ट विकल्प प्रस्तुत गरेको छ,’ सीईओ अग्रवालले भने ।
फसिनोसँगै यामाहाले एरोक्स १५५ को पनि परिष्कृत संस्करण सार्वजनिक गरेको छ । नयाँ एरोक्समा किलेस इन्ट्रीलगायतका फिचर थपिएका छन् । यी दुवै स्कुटर अहिले नाडा अटो शोमा अनावरण मात्र गरिएको हो । केही दिनमै यी मोडलको बुकिङ खुला हुने कम्पनीले जनाएको छ ।

अग्रवालका अनुसार फसिनो र एरोक्स स्कुटरको डेलिभरी दशैंको आसपास वा दसैंलगत्तै सुरू गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
आर-१५ मा नयाँ रणनीति
स्पोट्र्स बाइक सेग्मेन्टमा यामाहाले आर-१५ एमलाई पनि अपग्रेड गरेर ल्याएको छ । तर, कम्पनीको रणनीति केवल प्रिमियम ग्राहकमा सीमित छैन ।
फुल-फेयरिङ स्पोट्र्स बाइकप्रति ग्राहकको आकर्षण भए पनि मूल्यका कारण सबैले आर-१५ एम किन्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै यामाहाले आर-१५ एस पनि नेपाली बजारमा ल्याएको हो ।
‘आर-१५ फुल फेयरिङ बाइकको चाहना धेरै ग्राहकमा छ । मूल्यका कारण सबैले अफोर्ड गर्न सकिरहेका हुँदैनन् । त्यसैले हामीले यसको इकोनोमिकल संस्करण ल्याएका हौं,’अग्रवालले भने ।
आर-१५ एम र आर-१५ एसको बिक्री वितरण कम्पनीले नाडा अटो शोबाटै सुरू गरिसकेको छ ।
सबैभन्दा बढी उत्साह एक्सएसआर १५५मा
यामाहाका लागि यसपटकको सबैभन्दा प्रतिक्षित उत्पादन भने एक्सएसआर १५५ बनेको छ । क्याफे रेसर तथा रेट्रो-मोडर्न डिजाइनमा आएको यो मोटरसाइकल नेपालमा लामो समयदेखि चर्चामा थियो ।
भारतमा गत वर्ष सार्वजनिक भएपछि नै नेपाली ग्राहकमा यसको उत्साह महसुस भएको अग्रवाल बताउँछन् ।
‘एक्सएसआर १५५ लाई लिएर ग्राहकमा धेरै समयदेखि एक्साइटमेन्ट थियो । यो मोस्ट अवेटेड प्रडक्ट थियो । हामीले त्यो उत्साह पहिलेदेखि नै महसुस गरिरहेका थियौं,’ उनले भने ।
कम्पनीले एक्सएसआर १५५को बिक्री वितरण पनि सुरू गरेको छ । तर, माग धेरै र सप्लाई सीमित भएकाले तत्काल शोरुममा गएर किन्ने अवस्था नरहेको अग्रवाल बताउँछन् ।
‘एक्सएसआर अहिले हामीसँग धेरै लिमिटेड क्वान्टिटीमा छ र यो बुकिङमार्फत मात्रै उपलब्ध छ,’ अग्रवालले भने, ‘पहिले भएका बुकिङअनुसार अहिले डेलिभरी सुरू गरेका छौं र भदौको बुकिङ पनि लगभग क्लोज भइसकेको छ ।’
नाडामा बुकिङ गर्नेलाई विशेष उपहार
नाडा अटो शोमा यामाहाको अर्को आकर्षण बुकिङ अफर पनि हो । एक्सएसआर १५५ बाहेक अन्य मोडल बुकिङ गर्ने ग्राहकलाई कम्पनीले विशेष उपहार उपलब्ध गराउने भएको छ ।

एमटी र आर १५ सिरिजका मोटरसाइकल बुकिङ गर्ने ग्राहकलाई राइडिङ गियर निःशुल्क दिने कम्पनीले जनाएको छ । अन्य मोडल बुकिङ गर्ने ग्राहकले भने फुल ब्लूटुथ स्मार्ट हेलमेट पाउने छन् ।
एक्सएसआर १५५मा भने अत्यधिक माग र सीमित आपूर्तिका कारण विशेष अफरभन्दा पनि बुकिङ व्यवस्थापन कम्पनीको मुख्य चुनौती बनेको अग्रवालको भनाइ छ ।


