एमजीले भारतमा बनायो नयाँ एसयूभी ‘हेक्टर टोमहक’, सुरूआती मूल्य साढे १९ लाख

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो नयाँ सात सिटे विद्युतीय एसयूभी हेक्टर टोमहक ईभी सार्वजनिक गरेको छ । कम्पनीले भारतमा १९ लाख ४९ हजार भारतीय रुपैयाँ सुरुआती मूल्य तोकेर यसको बुकिङ खुलाएको हो ।

एसयूभी लामो रेन्ज, आधुनिक प्रविधि, प्रशस्त फिचर भएको कारण भारतमा यसको चर्चा बढ्दै गएको छ । हेक्टर टोमहकको संयमित र प्रिमियम डिजाइनले धेरैलाई तानेको छ ।

यसको अगाडि भागमा स्लिम क्लोज्ड अफ ग्रिल, टेक्स्चर्ड क्रोम इन्सर्ट र इलुमिनेटेड एमजी लोगो प्रयोग गरिएको छ । आयताकार एलईडी हेडलाइट र डीआरएलको संयोजनले एसयूभीलाई फरक पहिचान दिएको छ ।

बम्परमा एरोडाइनामिक्स सुधार गर्न एयर भेन्ट तथा तल्लो भागमा क्रोम फिनिसको एयर ड्याम दिइएको छ । साइड प्रोफाइल निकै बक्सी डिजाइन छ । ठूला विन्डो र परम्परागत पुल टाइप डोर ह्यान्डलसँगै १८ इन्चको ड्युअल टोन अलोय ह्वीलमा रातो ब्रेक क्यालिपर प्रयोग गरेर स्पोर्टी देखाउन कुनै कसर बाँकी राखेको छैन ।

एसयूभीको पछाडि ¥यापअराउन्ड एलईडी टेललाइट, ठूलो रूफ स्पोइलर र सिल्भर स्किड प्लेट दिइएको छ ।

इन्टेरियर निकै मिनिमलिस्ट डिजाइनमा तयार भएको देखिन्छ । क्याविन हल्का ब्राउन र कालो कलर थिम तथा ड्यासबोर्ड, डोरप्याड, आर्मरेस्ट र स्टेरिङमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ ।

ड्राइभर सिटमा ६ वे पावर एड्जस्टमेन्ट र अगाडिको यात्रुका लागि ४ वे पावर एड्जस्टमेन्ट दिइएको छ । अगाडिका दुवै सिट भेन्टिलेटेड छन् । गियर सेलेक्टर स्टेरिङ कोलममा राखिएको छ ।

हेक्टर टोमहक ईभीमा १५.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ । १० स्पिकरको इन्फिनिटी साउन्ड सिस्टम र ८.८ इन्च डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक्नोलोजीले यसलाई अब्बल बनाएको छ ।

यसमा ‘पेट मोड’ र इनबिल्ट कराओके सिस्टमजस्ता रोचक फिचर पनि दिइएको छ । सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टीपीएमएस, अगाडि र पछाडि पार्किङ सेन्सर, अल ह्वील डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा उपलब्ध छन् ।

हेक्टर टोमहकको टप भेरियन्टमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ट्राफिक जाम असिस्टसहितको लेभल-२ एडास पनि उपलब्ध हुनेछ ।

एमजीको एडाप्ट प्लेटफर्ममा बनेको हेक्टर टोमहक ईभीमा ६९.२ किलोवाट आवरको ब्याट्री र यसमा १५० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

यसले ९० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा भेहिकल-टु-होम फङ्सन पनि उपलब्ध रहेको छ ।


Back_to_top