काठमाडौं । नेपालमा बीवाइडीको प्रिमियम एसयूभी सिलायन सेभेनको अपडेटेड भर्सन सार्वजनिक भएको छ ।
बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले जारी नाडा अटो शो २०२६ मा नयाँ सिलायन सेभेन बिक्री सुरु गरेको हो ।
कम्पनीले नयाँ सिलायन सेभेनको मूल्य ९२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो यसअघि १०० किलोवाटको मोटरमा उपलब्ध सिलायन सेभेनभन्दा १३ लाख बढी हो । कम्पनीले १०० किलोवाटको मोटर भएको सिलायन सेभेन ७९ लाख ८५ हजारमा बिक्री गर्दै आएको थियो ।
कम्पनीले नाडामा लन्च गरेको सिलायन सेभेनमा १७० किलोवाटको शक्तिशाली मोटर छ । जसले ३८० न्युटन मिटर टर्क प्रदान गर्छ ।
नयाँ सिलायन सेभेनमा पहिलाको जस्तै ७१.८ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ४४० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।
सिलायन सेभेनको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलबेस छ ।
बीवाइडीको ‘सेल टु बडी टेक्नोलोजी’मा बनेको सिलायन ‘ई प्लेटफर्म ३.० ईभो’मा आधारित छ । कम्पनीले यसमा नयाँ डीसुस सी इन्टेलीजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम, रोडको कन्डिसन बुझ्ने एडाप्टिभ सस्पेन्सन दिएको छ । डी पाइलट १०० (गड्स आई) एड्भान्स ड्राइभर असिस्ट सिस्टमको साथ आएको सिलायनमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।
सिलयान सेभेनको इन्टेरियरमा १२८ कलरको एम्बियन्ट लाइटसहितको प्रिमिमय क्याबिन पाउन सकिन्छ । यसमा मसाज फङ्सन सहितको भेन्टिलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्क्रीन छन् ।
त्यसैगरी, भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।
यसमा सुरक्षाका लागि ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर र विभिन्न सुविधा भएको एडास लेभल २ फिचर छ ।


