काठमाडौं । नेपाली बजारमा डोङफेङ नामी बक्सको नयाँ भेरियन्ट सार्वजनिक भएको छ । नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले नाडा अटो शोमा नामी बक्सको दुई अपडेटेड भेरियन्ट बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ डोङफेङ बक्सको ई २-३३० भेरियन्टको आधिकारिक मूल्य ३० लाख ९९ हजार र ई २-४४० भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, ग्राहकले नाडा अटो शोमा विशेष छुटमा ई २-३३० भेरियन्ट २९ लाख ९९ हजार र ४४० भेरियन्ट ३१ लाख ९९ हजार रुपैयाँमा पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले डुअल टोन र सिल्भर कलरको किन्दा भने थप ५० हजार रुपैयाँ तिर्नुपर्नेछ । नाडामा डोङफेङ बक्स किन्नेले साढे २ लाख रुपैयाँ सस्तो पाउने भएका हुन् । यसअघि कम्पनीले डोङफेङ बक्सको ई भेरियन्ट ३२ लाख ४९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
नामी बक्सका यी दुवै भेरियन्टमा ४९.५ किलोवाटको मोटर रहेको छ । नामी बक्स ई २ मा ३१.४ किलोवाट र ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३३० किमी र ४३० किमी सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको टप स्पीड क्षमता प्रतिघण्टा १४० किलोमिटर छ । नामी बक्सको लम्बाइ ४०३० एमएम, चौडाइ १८१० एमएम र उचाइ १५७० एमएम छ । यसमा २६६० एमएम लामो ह्वीलबेस छ । १७६ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको नामी बक्समा १७ इन्चको आल्मुनियम अलोय ह्वील दिइएको छ ।
यो ईभीमा सेग्मेन्टमै पहिलो फ्रेमलेस डोर, फ्लस डोर ह्याण्डल तथा अटोमेटीक पार्किङ सुविधा उपलब्ध छ । यसको क्याबिनमा पनि ५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र अटोमेटिक एसी दिइएको छ ।
डोङफेङले यसमा ३६० डिग्री प्यानारोमिक क्यामरा, वायरलेस फोन चार्जर, हिटेड भेन्टीलेटेड तथा मेमोरी फङ्सन सहितको ड्राइभर सिट, अटोमेटिक एसी, मल्टी ड्राइभ मोड जस्ता फिचर दिएको छ ।
नामी १ मा सुरक्षाको लागि दिइएको दुई फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी, ईएससी, ब्रेक असिस्ट हिल असिस्ट सहित एडास फिचर रहेको छ ।


