काठमाडौं । नेपालमा बीवाइडीको प्लग इन हाइब्रिड शार्क ६ सार्वजनिक भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले जारी नाडा अटो शोमा शार्क ६ प्रदर्शन गरेको हो ।
कम्पनीले शोकेश मात्रै गरेकाले मूल्य भने घोषणा गरेको छैन । बीवाइडी शार्क डीएमओ प्लेटफर्ममा आधारित रहेको छ । जसमा ‘ओ’को अर्थ अफरोड र डीएम भन्नाले ड्युल मोटर हो ।
बीवाइडी शार्क पीकअपको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ५४५७ एमएम, १९७१ एमएम, १९२५ एमएम छ । यसमा ३२६० एमएम लामो ह्वीलबेस दिइएको छ ।
बीवाइडी शार्क ६ मा यसमा १.५ लिटर, टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । साथै, ३२० किलोवाटको दुई वटा मोटर हरेका छन् । बीवाइडी शार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्छ । रियर मोटरले १५० किलोवाटकोे पीक पावर र ३४० एनएम र्टक जेनेरेट गर्छ ।यसको इलेक्ट्रीक र आइसीईको संयुक्त पावर ४३० हर्स पावर छ ।
यस्तै, बीवाइडी शार्कले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटरसम्मको स्पीड लिन सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा छ ।

यसमा २९.५८ किलोवाट आवरको बीवाइडीको सिग्नेचर ब्लेड ब्याट्री रहेको छ । जसले १०० किलोमिटरको एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो पीकअपको संयुक्त रेन्ज ८४० किलोमिटर छ ।
बीवाइडी शार्क हाइब्रिड भएकाले १०० किलोमिटरमा ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीको भनाइ छ । यो पीकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्स्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट स्क्रीन एप्पल कारप्ले तथा एन्ड्रोइड अटो फिचर समेत छ ।
अन्य फिचरहरूमा डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर साथै हेडअप डिस्प्ले समेत रहेको छ ।
फोर ह्वील ड्राइभ अप्सन रहेको शार्कमा स्याण्ड, मड र स्नो गरी ३ वटा ड्राइभ मोड समेत रहेको छ । त्यस्तै, यसमा इन्डिपेन्डेन्ट क्वाइल स्प्रिङ रियर सस्पेन्सन रहेको छ । यो पीकअपको पेलोड ८३५ केजी तथा टोइङ क्यापासिटी २५०० केजीसम्म छ ।


