काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो महाकुम्भ मेला नाडा अटो शो २०२६ चलिरहेको छ । जहाँ एउटै थलोमा ५३ ब्राण्डका सवारी साधन प्रर्दशनीमा राखिएको छ ।
एउटै स्थानमा दर्जनौं ब्राण्ड, तिनका नयाँ मोडल र बिक्रेताले आकर्षक छुट अफर ल्याएकाले नयाँ गाडी किन्नेलाई अटो शो अवसर बनेको छ । साथै, नयाँ गाडी किन्नेलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरका आकर्षक स्कीम ल्याएका छन् ।
अटो शोमा नयाँ गाडी हेर्ने, बुकिङ र खरिद गर्नेको बाक्लो भीड लागेको छ । तर, अटो शोमा राखिएका दर्जनौं नयाँ गाडी, आकर्षक डिजाइन, छुट अफरले ग्राहकलाईलाई आफ्नो लागि उपयुक्त गाडी छनोट गर्न कन्फ्युजनमा समेत पारेको देखिन्छ । यस्तोमा तपाईं यी मुख्य ८ कुरामा स्पष्ट हुनुभयो भने आफ्नो लागि सहजै उपयुक्त कार छनोट गर्न सक्नुहुन्छ ।
१. बजेट निर्धारण गर्नुहोस् : कुनै पनि सामानको खरिद क्षमता बजेटले निर्धारण गर्छ । त्यसैले सबैभन्दा पहिला आफूले कति मूल्यसम्मको कार किन्न सक्छु भन्ने तय गर्नुहोस् । आफूसँग भएको बैंक ब्यालेन्स, नियमित कमाइका आधारमा कारका लागि खर्चिन सक्ने बजेट निश्चित गर्नुहोस् । कार किन्न बजेट बनाउँदा गाडीको मूल्यसँगै बीमा, कर, दैनिक संचालन खर्च र किस्ता रकम समेत हिसाब गर्नुहोस् । जसले तपाईंलाई कार किन्नु अघि नै मेरो मासिक यति खर्च हुन्छ भन्ने स्पष्ट बनाउँछ । बजेट तोकेपछि सोही मूल्य रेन्जसम्मका कार हेर्नुहोस् ।
२. आवश्यकता पहिल्याउनुहोस् : गाडी किन्ने मुख्य उद्देश्य के हो भन्ने पहिले निश्चित गर्नुहोस् । दैनिक कार्यालय आउजाउ, पारिवारिक प्रयोग, लामो दूरीको यात्रा वा व्यावसायिक प्रयोजन के का लागि गाडी किन्ने, त्यो टुंगो लगाउनुहोस् ।
हरेक प्रयोजनका लागि फरक फरक किसिम र क्षमतामा गाडी उपलब्ध छन् । तपाईं सहरभित्र दैनिक अफिस आउजाउ र सामान्य पारिपारिक घुमफिरका लागि कार किन्दै हुनुहुन्छ भने ह्याचब्याक वा कम्प्याक्ट एसयूभी उपयुक्त हुन्छन् । तर अफरोड, पहाडी बाटो वा धेरै सामान र परिवारसहित लामो दूरी यात्राका लागि हो भने उच्च ग्राउण्ड क्ल्यिरेन्स भएका मिड वा फुलसाइज एसयूभी वा अफरोड एसयूभी छान्नुपर्छ । तपाईं कारको सौखिन हुनुहुन्छ भने सेडान वा प्रिमियम लग्जरी गाडी रोज्नुहोस् ।
३. उपयोगितामा ध्यान दिनुहोस् : अटो शोमा आधुनिक र आकर्षक डिजानका कार उपलब्ध छन् । बाहिरी लुक्स हेर्दा तपाईं तुरुन्तै मनपर्न सक्छ । तर, दैनिक प्रयोगका लागि गाडी कत्तिको व्यावहारिक छ भन्ने बढी महत्त्वपूर्ण हुन्छ । गाडीको इन्टिेरियर स्पेस, आरामदायी सिट, बुट स्पेस, अन्य स्टोरेज क्षमता, ढोका खोल्ने सहजता लगायत व्यवहारिक पक्षलाई ध्यान दिनुहोस् । गाडी हेर्दा राम्रो मात्रै भएर हुँदैन, व्यवहारिक रूपमा सहज र आरामदायी समेत हुनुपर्छ ।
४.पावर ट्रेन छनोट : नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ । अटो शोमा राखिएका पनि दुई तिहाई बढी गाडी ईभी नै छन् । यदि, तपाईं इन्धन खर्च जोगाउन, सहरी क्षेत्रमा चलाउन र प्रविधिमैत्री अनुभवका लागि कार खोज्दै हुनुहुन्छ भने ईभी उत्तम विकल्प हुन्सक्छ ।
तर, चार्जिङ स्टेसन, रेन्ज लगायत कारण अहिल्यै नेपालको सबै ठाउँमा ईभीको प्रयोग सम्भव छैन । यस्तोमा कम्बस्चन इन्जिन वा हाइब्रिड गाडी नै व्यावहारिक र उपयोगी हुन्छ । यदि, तपाईं ईभी किन्दै हुनुहुन्छ मुख्यगरी मोटर पावर, ब्याट्री साइज र रेन्ज हेर्नुहोस् । कम्बस्चन गाडी किन्दै हुनुहुन्छ भने इन्जिन क्षमता र माइलेज ख्याल गर्नुहोस् ।
५. सेफ्टी फिचर : गाडीको डिजाइन र पर्फमेन्स मात्र हेरेर पुग्दैन, त्यो गाडी कति सुरक्षित छ भन्ने हेर्नुपर्छ । अर्थात् आफूले किन्न लागेका कारमा भएका सुरक्षा फिचर बारे जानकारी राख्नुहोस् । कारमा एयरब्याग, एबीएस, जस्ता सामान्य फिचर अनिर्वाय भए पनि ब्रेक एसिस्ट, ब्लाइण्ड स्पर्ट मोनिटरिङ, क्रुज कन्ट्रोल, स्पीड वार्निङ, एडास जस्ता आधुनिक सेफ्टी फिचर हेर्नु उपयुक्त हुन्छ ।
६. बिक्रेता, वारेन्टी र सर्भिस बारे बुझ्नुहोस् : नेपालमा पछिल्लो समय नयाँ नयाँ ब्राण्डको बाढी लागिरहेको छ । जुनसुकै पेशामा आबद्ध रहेकाले पनि गाडी ल्याएर बेचिरहेका छन् । यस्तोमा तपाईंले बिक्रेताको विगतको इतिहास हेर्नुपर्छ । उसले गाडी मात्र बेच्छ कि बिक्रीपछि सहजै सर्भिसिङ, स्पेयर पार्टसको उपलब्धता गराउन सक्छ सक्दैन ख्याल गर्नुपर्छ । देशभर कहाँ कति सर्भिस सेन्टर छन् बुझ्नुपर्छ । यी कुराले नै उसले दिएको वारेन्टी कागजमा मात्रै सीमित हुन्छ कि व्यवहारमा लागू हुन्छ भन्ने समेत निर्धारण गर्छ । यदि, ईभी किन्दै हुनुहुन्छ भने उसको चार्जिङ नेटवर्क समेत बुझ्नुपर्छ ।
७. अफरको मात्र पछि नलाग्नुहोस् : अटो शोमा ग्राहकलाई आकर्षित गर्न बिक्रेताले छुट अफर ल्याएका छन् । हजारमा होइन, लाखमा छुट दिएका छन् । साथै, बीमा, कर, विदेश भ्रमणका अफर समेत छन् । यस्तोमा त्यो छुट वास्तविक हो कि ग्राहक तान्ने अस्त्र मात्र हो अध्ययन गर्नुहोस् । प्रतिस्तपर्धीको तुलनामा उसको गाडीको मूल्य, फिचर र दिएको छुटलाई दाँजनुहोस् । यदि महँगो मूल्य राखेर छुट दिएको छ भने त्यो छुट नभएर एउटा मार्केटिङ रणानीति मात्रै हो भन्ने बुझ्नुहोस् । यदि, उचित मूल्यमा पनि छुट दिएको हो भने तपाईंका लागि लाभदायक हुनसक्छ ।
त्यस्तै, बैंकहरूले ल्याएको कम डाउन पेमेन्ट र कम मासिक किस्ताको विज्ञापन आकर्षक लाग्न सक्छ। तर, लामो अवधिको ऋणले कुल ब्याज खर्च बढाउन सक्छ । मासिक किस्ता मात्र होइन, ऋण अवधि सकिँदासम्म कुल कति रकम तिर्नुपर्छ भनेर हिसाब गर्नुहोस् ।
८. तत्कालै निर्णय नलिनुहोस् : अटो शोमा दर्जनौं ब्राण्डका गाडी एकै ठाउँमा उपलब्ध छन् । आफ्नो बजेट, आवश्यकता र रोजाइमा परेका कारमध्येबाट कम्तीमा ३/४ वटा कार शर्टलिस्ट गर्नुहोस् । त्यसपछि गाडीको अनिवार्य टेस्ट ड्राइभ गर्नुहोस् । गाडीको भिजिबिलिटी, राइड कम्फर्ट, सस्पेन्सन र ग्राउण्ड क्लियरेन्स आफैँले अनुभव गर्नुहोस् । सर्टलिस्टमा परेका मध्येबाट मूल्य, फिचर्स र टेस्ट ड्राइभ अनुभवको आधारमा उत्कृष्ट गाडी छनोट गर्नुहोस् । अनि मात्रै खरिद गर्नुहोस् ।
निष्कर्ष : उपयुक्त गाडी भन्नाले सबैभन्दा महँगो, सबैभन्दा ठूलो वा सबैभन्दा धेरै सुविधा भएको गाडी मात्र होइन। आफ्नो बजेट, परिवारको आवश्यकता, दैनिक यात्रा, सडकको अवस्था, सर्भिस सुविधा र भविष्यको खर्चसँग मेल खाने गाडी नै वास्तवमा उपयुक्त गाडी हो ।
त्यसैले, अटो शोमा गाडी छान्दा मूल्य, आवश्यकता, संचालन खर्च, गाडीका फिचर, बिक्रीपछिको सेवा, वारेन्टी, स्पेयर पार्टसको उपलब्धता, बिक्रेताको विगत, रिसेल भ्यालुलाई आधार मान्नुहोस् । जसले तपाईंलाई आफ्नो लागि उपयुक्त गाडी छनोट गर्न सहज बनाउँछ ।


