काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा धावनमार्ग रहने नयाँ प्रस्ताव अगाडि आएको छ । रुख काट्ने कामनै अगाडि बढ्न नसकेको आयोजनाले तीन चरणमा विमानस्थल बनाउनेगरी प्रस्ताव गर्न लागेको हो ।
‘बन मन्त्रालयले स्वीकृत नदिदा सेनासँग भएको सम्झौता अनुरुप रुख काट्न सकिएन । सेनासँगको सम्झौता अवधि सकियो, अव कसलाई ठेक्का दिने भन्ने निर्णय भएको छैन’, निजगढ विमानस्थल आयोजना प्रमुख ओम नारायण शर्माले भने ।
अव निर्माणको शोरुप परिवर्तन गर्ने तयारी भइरहेको बताउदै शर्माले भने, ‘पहिलो चरणमा १० देखि १५ हजार रुख कटान गरी एउटा मात्र रनवे निर्माण गर्ने गरी काम अगाडि बढाउदै छौँ ।’
आयोजना प्रमुख शर्माले विमानस्थल निर्माणलाई तीन चरणमा पुरा गर्ने योजना बनिरहेको बताए । पहिलो चरणको निर्माणको लागि १ खर्ब १० अर्व रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने, दोस्रो चरणमा १ खर्ब ४० अर्ब रुपैयाँ खर्च हुने आयोजनाले अनुमान गरेको छ ।
तेस्रो चरणमा १ खर्ब २० अर्ब खर्च गर्दै सम्पूर्ण योजना पुरा गर्ने तयारी भएको छ ।
‘सरकारले बार्षिक रुपमा ३० देखि ४० अर्ब रुपैयाँ उपलब्ध गराएमा ४ वर्ष भित्र विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्न सकिने शर्माले जानकारी दिदै भने तर, त्यसको लागि सम्बन्धीत सबै निकायको सहयोग आवश्यकता पर्नेछ ।’
आयोजना निर्माण स्थलमा पर्ने १४५० घरधुरीका करिब १० हजार नागरिकलाई अन्यत्र सार्न कोहल्बी नगरपालिकाको वडा नंं. ५, ८ र जितपुुर सिमरा उपमाहानगरपलिको केही भागमा तयारी भइरहेको छ ।
बिस्तापन गर्ने बस्ती क्षेत्रलाई सरकारले एयरपोर्ट सीटीको रुपमा विकास गर्नेगरी तयारी भइरहेको शर्माले जानकारी दिए ।

