ड्राइभिङमा चकित पार्ने ‘बी०३ एक्स’ (भिडियोसहित)

काठमाडौं । हेर्दा माइक्रो एसयूभी । डिजाइन पनि औषत लाग्छ । क्याबिन भित्र प्रशस्त स्थान छ । सिटहरू निकै नरम र आरामदायी छन् ।

एसयूभी स्ट्यान्स पाइन्छ । तर, पछाडिबाट हेर्दा खालीखाली महसुस हुन्छ । होइन ४५ लाख रुपैयाँ मूल्यमा लिपमोटरले के कार बनायो होला भन्ने प्रश्न मनमा उठ्छ । जब ड्राइभिङ सिटमा बसेर चलाउन थालिन्छ, अनिमात्रै ‘वाउ’ भन्ने शब्द मुखबाट निस्कन्छ ।

हो, अहिले मैले कुरा गरिरहेको एसयूभी लिपमोटर बी०३ एक्सकै हो । साना एसयूभीहरूको लामो लिस्टमा बी०३ एक्स फरक लाग्दैन, चलाउँदा भने ‘वाउ’ नै लाग्छ ।

लिपमोटर सधैँ पावरफुल गाडी बजारमा ल्याउनु पर्छ भन्ने कुरामा विश्वास गर्दै आएको ब्राण्डमा पर्छ । यसको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले मोटर पावरको आधारमा कर निर्धारण भएको समयमा पनि ठूलो मोटरमै गाडी ल्याएको थियो ।

यसअघि बजारमा आएका सी-१० होस् वा बी-१० दुवैलाई १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा ल्याएको थियो । यसपटक अझै सानो एसयूभी ल्यायो, त्यसमा पनि १४५ किलोवाटको मोटर दियो ।

पावरफुल मोटर भएकै कारण यसको ड्राइभिङ क्वालिटी उत्कृष्ट भएको कुरामा दुईमत छैन । यसले नेपालको कुनै पनि सडकमा उत्कृष्ट पर्फमेन्स गर्न सक्ने खालको छ ।

ब्याट्री र रेन्ज

लिपमोटर बी०३ एक्समा ५३ किलोवाट आवरको ब्याट्री दिएको छ । यसको डब्लूएलटीपी रेन्ज ३८२ किलोमिटर छ । जस्तोसुकै अवस्थामा चलाए पनि नेपाली सडकमा ३६० किलोमिटर माथि रेन्ज निकाल्न सकिन्छ ।

बाहिरी डिजाइन

कम्प्याक्ट र मोर्डन लाग्ने डिजाइनमा तयार भएको क्यूट एसयूभीको लम्बाइ ४२७० एमएम छ । चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम भएको एसयूभीमा ह्वीलबेस २६०५ एमएम लामो छ । यसमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ ।

यसको फ्रन्ट डिजाइन मिनिमल डिजाइनमा आधारित छ । निकै स्लीम डिजाइनको हेडलाइट प्रयोग भएको बी०३ एक्सको तल्लो बम्परसँगै जोडेर एयरभेन्टहरू दिइएको छ ।

गाडीको साइड प्रोफाइलले एसयूभी हो भन्ने प्रस्ट पार्छ । अझ ह्वील आर्च, रुफलाइन र १९० एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई क्रसओभरभन्दा माथि एसयूभी ‘क्यारेन्टर’ प्रदान गरेको देखिन्छ ।

पछाडिको डिजाइन निकै क्लिन छ । स्माइली टेल लाइटको प्रयोग राम्रो देखिन्छ । पूरै गाडी मिनिमलिस्टीक डिजाइन अप्रोचमा तयार भएको छ ।

इन्टेरियरका कुरा

ड्यासबोर्डको लेआउट निकै क्लिन छ । स्क्रीनहरुको साइज गाडी अनुसार ठिक्क लाग्छ । स्टेयरिङ, सिट, स्वीचहरू, ढोकाको बनोट र यी कुरा बनाउन प्रयोग भएको मेटेरियलहरु उत्कृष्ट छन् ।

गाडीको भित्रै धेरै स्थानमा सफ्ट टच मेटेरियल प्रयोग भएको पाइन्छ । थोरै स्थानमा हाड प्लास्टीक प्रयोग भएको छ । चालकले हाइ सिटिङ पोजिसन पाउँछ । चार तरिकाले मिलाउन मिल्ने स्टेयरिङ दिइएको छ ।

ड्राइभिङ अनुभव

गाडीको धेरै कुरा माथि नै उल्लेख भइसकेको छ । त्यसैले केही कुरा मात्रै यहाँ चर्चा गर्दा पुग्छ । सहरी क्षेत्रमा यसलाई चलाउँदा सहजै पार्किङ गर्न सकिन्छ । कम्प्याक्ट साइजको फाइदा बी०३ एक्सले दिन्छ ।

हाइवेमा चलाउँदा गाडी निकै स्टेवल छ । स्टेयरिङको रेस्पोन्स हाइवेमा झनै सुधार हुन्छ । कर्नरमा बडी रोल भएको आभाष नै हुँदैन । तपाईंले चाहेको स्थानमा सोचे जसरी ब्रेक लगाएर रोक्न सक्नुहुन्छ । त्यसैले हाम्रो बुझाइमा यो एसयूभी ‘चलाउँदा स्पोर्टी होइन, ड्राइभ फन’ प्रदान गर्ने मोडल हो ।

जसमा सुरक्षाको लागि आवश्यक फिचरको लामो लिस्ट दिइएको छ । एडास र त्यसभित्रका एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, अटोमेटिक ब्रेक निकै उपयोगी छन् ।


Back_to_top