काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले भरतपुर विमानस्थलमा उडान संख्या दोब्बर बढाएको छ ।
सामान्य अवस्थामा यस विभानस्थलबाट दैनिक ५ उडान गर्दै आएको बुद्धले हाल दिनको ११ वटासम्म उडान भर्न थालेको हो ।
भदौ १० गते आएको बाढीले पृथ्वीराजमार्गको कृष्णभीर लगायत स्थानमा सडक कटान गर्दा यातायात संचालन हुन सकेको छैन । सडक यात्रायात सहज नभएपछि हवाई यात्रुको चाप बढेसँगै एयरलाइन्सले उडान संख्या थपेको हो ।
बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतले सडक यात्रा असहज बनेसँगै उडान संख्या दोब्बरले बढाएर दैनिक ११ वटासम्म पुर्याइएको जानकारी दिए ।
उनका अनुसार सामान्य अवस्थामा भरतपुर-काठमाडौं रुटमा दैनिक ५ उडान हुँदै आएको थियो । हाल यात्रुको चाप र आवश्यकता अनुसार दैनिक ९ देखि ११ सम्म उडान गर्दै आइएको उनले बताए ।
काठमाडौंबाट भरतपुर विमानस्थलमा बुद्ध एयरले मात्रै उडान भर्दै आएको छ । बुद्धले ‘एटीआर ७२’ जहाज मार्फत उडान भर्छ । यो जहाजले काठमाडौंबाट जाँदा ६५ देखि ७० जना र भरतपुरबाट काठमाडौं आउँदा ५० जना यात्रु बोक्ने गर्छ ।
जहाजको सिट क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण भरतपुरबाट काठमाडौं आउँदा क्षमता अनुसारको यात्रु बोक्न सक्दैन ।


