काठमाडौं । विश्वकै प्रमुख विद्युतीय सवारी साधन उत्पादक बीवाईडीले सन् २०२७ मा अन्तराष्ट्रिय बजारमा २५ लाख बढी युनिट बढी गाडी बेच्ने महत्वकांक्षी लक्ष्य राखेको छ ।
बीवाईडी व्यवस्थापनले आम्दानी विवरणपछिको कलमा गरेको टिप्पणीलाई उद्धृत ‘डोयचे बैंक’का विश्लेषकहरूले सोमबार जारी एक अनुसन्धान नोटमा बीवाडीको आगामी लक्ष्यबारे जानकारी दिएका हुन्।
बीवाइडीले आफ्नै ढुवानी जहाजको विस्तार र वैदेशिक उत्पादन क्षमता वृद्धि गर्दै कम्पनीले अन्तर्राष्ट्रिय उपस्थिति तीव्र पार्ने रणनीति लिएको छ ।
डोयचे बैंकका विश्लेषकहरूका अनुसार कम्पनीले सन् २०२६ का लागि पनि आफ्नो वैदेशिक बिक्री लक्ष्य बढाएर १९ देखि २० लाख पुर्याएको छ । यो बीवाइडीको सुरूवाती १३ लाखको लक्ष्यभन्दा निकै बढी हो।
चीनमा घरेलु बिक्री ३२.७२ प्रतिशतले घट्दा अन्तर्राष्ट्रिय बजार बीवाइडीका लागि बलियो आधार बनेको छ । सन् २०२६ को पहिलो ८ महिनामा कम्पनीको वैदेशिक बिक्री ८५.७२ प्रतिशतले बढेर ११ लाख ६२ हजारभन्दा बढी पुगेको छ । सोही आधारमा बीवाइडी व्यवस्थापनले अब सन् २०२६ मा १९ लाखदेखि २० लाख गाडी अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने अपेक्षा गरेको छ।
बीवाडीले वर्ष ढुवानी क्षमताको कमीले गर्दा माग अनुसार अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न नसकिएको बताएको छ । पर्याप्त क्षमता भएको भए यो परिमाण अझ बढी हुन सक्ने बीवाइडी व्यवस्थापनले बताएको छ ।
बिक्री बढाउन एकैसाथ धेरै रणनीति
बीवाइडीले सन् २०२७ को आफ्नो लक्ष्य भेटाउन एकैसाथै धेरै रणनीति अघि सारेको छ । कम्पनीले शिपिङ क्षमता विस्तार, प्लाण्ट विस्तार, फ्ल्यास चार्जिङ नेटवर्क विस्तार जस्ता योजना अघि सारेको छ ।
कम्पनीले विदेशमा गाडी बिक्री बढाउन धमाधम नयाँ प्लाण्ट संचालनमा लयाउने योजना बनाएके छ । कम्पनीले हालै इन्डोनेसियाको प्लाण्टबाट उत्पादन सुरू गरिसकेको छ भने ब्राजिलमा वार्षिक ३ लाख गाडी गर्ने प्लाण्ट निर्माण गरिरहेको छ । त्यस्तै, हंगेरीमा यसै वर्षको अन्त्यसम्ममा उत्पादन सुरू हुने अपेक्षा छ।
त्यस्तै, कम्पनीले आफ्नो फास्ट चार्जिङ नेटवर्क ‘फ्लायस चार्जिङ’ निर्माणमा आक्रमक योजना अघि सारेको छ । कम्पनीले चीनमा सन् २०२८ सम्म कुल ९० हजार र अन्तर्राष्ट्रिय बजारमा मार्च २०२७ सम्म ६ हजार वटा (युरोपमा ३ हजार, अमेरिकामा २ हजार र एसिया प्रशान्त क्षेत्रमा १ हजार) फ्ल्यास चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ ।
‘ब्लेड ब्याट्री’को अभाव हट्दै जाँदा नाफामा सुधार हुने कम्पनीको विश्वास छ । दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’को अभाव २०२७ को पहिलो त्रैमासिकसम्म हल हुनेछ । यसले नाफा बढाउने कम्पनीको प्रक्षेपण छ । विदेशी मुद्राको उतारचढावका बाबजुद यस वर्ष पहिलो ६ महिनामा वैदेशिक बिक्रीबाट प्रति गाडी २ हजार ९५० अमेरिकी डलर नाफा भएको छ।
यसका साथै बीवाइडीले सन् २०२७ मा चीनमा लागू हुने सम्भावना रहेको ‘लेभल ३ एडास’ नियमहरूलाई ध्यानमा राख्दै इन्टेलिजेन्ट ड्राइभिङ र अनुसन्धान तथा विकासमा लगानी बढाउने योजना बनाएको छ ।


