हुन्डाईले ल्याउँदैछ सस्तो र आधुनिक ईभी, ‘प्लिओस कनेक्ट’ सिस्टम पाइने

काठमाडौं । हुन्डाईले भारतमा उत्पादन गर्ने तयारी गरिरहेको नयाँ सब–४ मिटर इलेक्ट्रीक एसयूभीमा कम्पनीको नयाँ पुस्ताको ‘प्लिओस कनेक्ट’ इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुने भएको छ ।

हुन्डाई इन्डियाले सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुआतमा सार्वजनिक गर्ने अनुमान गरिएको नयाँ ईभी अहिले तिब्र गतिमा परीक्षण चलिरहेको छ ।

भारतका विभिन्न सडकमा परीक्षणमा रहेको ईभीको धेरै कुरा बाहिर आउन थालेका छन् । यही क्रममा नयाँ एसयूभीको ड्यासबोर्ड र अन्य फिचरहरु प्रस्टसँग बाहिर आएका हुन् ।

हुन्डाईले आन्तरिक रूपमा ‘एचई१आई’ कोडनेम दिएर विकास गरिरहेको इलेक्ट्रीक एसयूभीको पछिल्लो स्पाइ तस्बिरमा कारभित्र ड्यासबोर्डमा राखिएको सानो डिजिटल डिस्प्ले देखिएको छ । यो हुन्डाईको नयाँ ‘प्लिओस कनेक्ट’ सिस्टमको हिस्सा हो ।

यसअघि दक्षिण कोरियामा ग्रान्ड्योर तथा अन्य बजारमा आयोनिक ३, एलान्ट्रा र टुसान जस्ता मोडलमा प्लिओस कनेक्ट सिस्टम प्रयोग भइसकेको छ ।

प्लिओस सिस्टममा ठूलो सेन्ट्रल टचस्क्रिन र चालकको आँखाको सीधामा पर्ने छुट्टै सानो डिजिटल डिस्प्ले प्रयोग गरिनेछ । यसले गति, ब्याट्री तथा उपलब्ध रेन्जजस्ता महत्वपूर्ण सूचना प्राथमिकताका साथ देखाउनेछ ।

हुन्डाईले यसलाई ४० देखि ५० किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध गराउने सम्भावना धेरैछ । एक पटकको फुल चार्जमा करिब ४५० किलोमिटरसम्मको रेन्ज दिने लक्ष्य कम्पनीको हुन सक्छ । त्यसैले यसमा एनसीएम ब्याट्री नै प्रयोग गर्ने सम्भावना धेरैछ ।

कारमा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिटसँगै निकै उपयोगी इन्टेरियर उपलब्ध हुने अनुमान छ ।

सुरक्षाका लागि ७ वटासम्म एयरब्याग, ३६० डिग्री क्यामेरा तथा लेभल-२ एडीएएस फिचरमा आउने नयाँ एसयूभी हुन्डाईको ई-जीएमपी प्लेटफर्मको परिमार्जित संस्करणमा बन्ने बताइएको छ ।

भारतमा उत्पादन हुने यो एसयूभी नेपालको बजारको लागि पनि निकै महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ । १० लाख भारतीय रुपैयाँ आसपासको मूल्यमा आउने बताइएको यो एसयूभी नेपालमा पनि राम्रो सम्भावना भएको मोडल हुनेछ ।

यदि, राम्रो मूल्यमा आउने हो भने हुन्डाईको बलियो ब्रान्ड छवि, बिक्रीपछिको सेवा संजाल र सम्भावित आधुनिक प्रविधिले नयाँ एसयूभीलाई चिनियाँ उत्पादनसँग बलियो प्रतिस्पर्धी बनाउने छ ।


Back_to_top