काठमाडौं । आधुनिक कारमा अत्याधुनिक टेक फिचर प्रयोग गर्ने क्रम बढ्दो छ । अटो निर्माताहरूले आफ्नो उत्पादनलाई प्रिमियम, सुरक्षित बनाउन र ग्राहक आकर्षित गर्न नयाँ नयाँ फिचर प्रयोग गरिरहेका हुन् ।
पछिल्लो समय कारमा ट्रिपल डिस्प्ले, लेभल २ एडास, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, ड्राइभर मनिटरिङ सिस्टम, ओभर द एयर अपडेट्स लगायत उन्नत प्रविधि प्रयोग भइरहेको पाइन्छ । तर, उपभोक्ता भने आधुनिक र प्राविधिक फिचरभन्दा सहजै प्रयोग गर्न सकिने फिचरमा धेरै सन्तुष्टि हुने गरेको पाइएको छ ।
‘जेडी पावर २०२६ यूएस टेक एक्सपिरियन्स इन्डेक्स’को पछिल्लो अध्ययनले कार चालकहरू नयाँ डिजिटल प्रविधिभन्दा चालकको ध्यान भंग नगर्ने र पृष्ठभूमिमा सहजै काम गर्ने सकिने फिचर बढी रुचाएको देखाएको हो ।
अध्ययन अनुसार कार चालकहरू सबैभन्दा बढी ‘स्मार्ट इग्निसन’ फिचरमा सन्तुष्ट रहेको पाइएको हो । अध्ययनको क्रममा प्रति १०० जना चालकमध्ये २.४ जनाले मात्रै ‘स्मार्ट इग्निसन’ सिस्टममा समस्या भोग्नु परेको बताएका छन् । अर्थात् ९७.६ प्रतिशतले यो फिचरमा कुनै समस्या नपाएको र आफूलाई सन्तुष्ट बनाएको प्रतिक्रिया दिएका हुन् । त्यस्तै, स्मार्ट क्लाइमेट कन्ट्रोल र ड्राइभर प्रिफरेन्स फिचर पनि चालकले धेरै रुचाएका छन् ।
जेडी पावरले यो अध्ययन सन् २०२६ मा गाडी किनेको ९० दिन पूरा भइसकेका ६८ हजार ८४ जना नयाँ सवारी चालकको प्रतिक्रियाको आधारमा गरेको हो ।
स्मार्ट इग्निसन भनेको सवारी साधनमा चाबीको सट्टामा प्रयोग गरिने एक आधुनिक र प्रविधिमैत्री इन्जिन स्टार्ट/स्टप प्रणाली हो। यसलाई मुख्यतया ‘किलेस इन्ट्री एण्ड स्टार्ट सिस्टम’ वा ‘पुस स्टार्ट/स्टप बटन’ पनि भनिन्छ।
यो प्रविधिबाट गाडी स्टार्ट गर्न चाबी हालेर घुमाइ राख्नुपर्दैन । स्मार्ट कीबाट बटन थिचेरै सजिलै गाडी स्टार्ट वा बन्द गर्न सकिन्छ । स्मार्ट की र गाडीको इग्निसन सिस्टम बीच रेडियो फ्रिक्वेन्सी मार्फत कोड म्याच हुन्छ । सही कोड मिलेपछि मात्र बटन थिच्दा इन्जिन स्टार्ट हुन्छ, जसले गर्दा गाडी चोरी हुने जोखिम निकै कम हुन्छ। स्मार्ट इग्निसनले गाडी चलाउने प्रक्रियालाई अझ सहज, आधुनिक र सुरक्षित बनाउँछ ।
सवारी साधनमा केवल आकर्षक प्रविधि थप्नुभन्दा पनि त्यसको प्रभावकारी र समस्यारहित कार्यान्वयन नै ग्राहक सन्तुष्टिको मुख्य कुरा रहेको यो नतिजाले स्पष्ट पारेको छ ।
अध्ययन अनुसार कारको ड्यासबोर्डमा प्रयोग गरिने ट्रिपल डिस्प्ले प्रति उपभोक्ताको खासै आकर्षण नरहेको देखाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट टचस्क्रीन उपयुक्त रहे पनि यात्रु स्क्रीन भने प्रयोगविहीन जस्तै देखिएको छ ।
अध्ययन अनुसार हरेक पटक गाडी चलाउँदा यात्रुका लागि राखिएको स्क्रीन केबल ६ प्रतिशत मानिसले मात्रै प्रयोग गर्ने गरेको पाइएको छ । अर्थात् ९४ प्रतिशत यात्रुले उनीहरूको सुविधाका लागि राखिएको स्क्रीन नै प्रयोग गर्दैनन् ।
अझ रोचक कुरा त के छ भने गाडीमा यात्रु स्क्रीन भएका कुल प्रयोगकर्तामध्ये ३५ प्रतिशतले त यसलाई कहिल्यै प्रयोग नै नगरेको बताएका छन् । यसरी यात्रुकाको सुविधाका लागि राखिएको छुट्टै स्क्रीनमा सबैभन्दा धेरै समस्या आउने गरेको पाइएको छ । त्रिपल स्क्रीन भएका प्रति १०० गाडीमध्ये औसत २१.३ वटामा समस्या दर्ता भएको अध्ययनमा उल्लेख छ । यस्ता यात्रु स्क्रीन भएका गाडीहरूमा समग्र इन्फोटेनमेन्ट (रेडियो/स्क्रीन) प्रणालीमा नै बढी समस्याहरू देखिएका छन्।


