काठमाडौं । अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले भारतको चेन्नईमा रहेको ‘मराईमलाई’ प्लान्टबाट ईभीको उत्पादन थाल्ने समाचारहरु बाहिर आएका छन् । एसिया-प्रशान्त क्षेत्रका लागि ईभी उत्पादन हबका रूपमा चेन्नाइको प्लान्ट प्रयोग गर्ने योजना फोर्डले अगाडि सार्न लागेको हो ।
अमेरिकी अटो निर्माताले अहिलेसम्म यो कुराको पुस्टी गरेको छैन । तर, प्रकाशित बिभिन्न रिपोर्टका अनुसार फोर्डले अहिले तयारी अवस्थामा रहेको प्लान्टलाई नै विस्तार गर्दै संचालनमा ल्याउन लागेको हो ।
कम्पनीले यो प्लान्टमा ईभी उत्पादनसँगै ब्याट्री प्याक निर्माण, ब्याट्री सेल, इलेक्ट्रीक मोटर र अन्य विद्युतीय पावरट्रेन विकासमा प्रयोग गर्नेछ । ईभी उत्पादनको मुख्य ईको सिस्टम नै यही बनाउन लागेको रिपोर्टहरुले दावी गरेका छन् ।
अमेरिकी निर्माताले कम मूल्यका विद्युतीय गाडी उत्पादन गरी एसिया-प्रशान्त क्षेत्रसहित अफ्रिका लगायतका देशमा निर्यात गर्ने योजना बनाएको हुनसक्छ । यदि, यो घोषणाको तयारीमा कम्पनी रहेको हो भने यसले फोर्डलाई भारतमा पुनः ठूलो स्तरको गाडी उत्पादनमा फर्काउनेछ ।
फर्च्युन इन्डियासँगको कुराकानीमा फोर्ड इन्डियाका प्रवक्ताले हालसम्म सार्वजनिक गरिएको योजनामा कुनै परिवर्तन नभएको र चेन्नई प्लान्ट निर्यातका लागि पावरट्रेन उत्पादनमा केन्द्रित रहने बताएका छन् । कम्पनीले २०२५ मा चेन्नाईको उक्त प्लान्टमा थप ३ हजार २५० करोड भारतीय रुपैयाँ लगानी थप्ने र इन्जिन उत्पादन गर्ने घोषणा गरेको थियो ।
रिपोर्टहरुका अनुसार पहिले घोषणा भएको योजना र पूर्वाधारको उच्चतम प्रयोग गर्दै अगाडि बढ्ने योजना कम्पनीले बनाएको छ । ईभीको लागि तत्काल नयाँ ‘ग्रीनफिल्ड प्लान्ट’ निर्माण गर्नुको सट्टा भएकै प्लान्टलाई ‘ब्राउन्फिल्ड विस्तार’का रूपमा अघि बढाउन खोजेको हो ।
भारतमा ईभीको बिक्री तीव्र गतिले बढ्न थालेसँगै फोर्डको सम्भावित योजना आएको हो । जेएमके रिसर्चका अनुसार २०२६ को पहिलो ६ महिनामा भारतमा विद्युतीय कारको बिक्री ८३ प्रतिशतले वृद्धि भएको छ ।
फोर्डले सन् २०२१ मा भारतका लागि गाडी उत्पादन बन्द गरेको थियो । अब फेरी ईभी उत्पादन मार्फत फोर्ड भारत आउन खोजेको हो भने उसको लागि पुनः विश्वकै तेस्रो ठूलो कार बजारको ढोका खुल्ला हुनेछ ।
भारत प्लान्ट बन्दभएसँगै फोर्ड नेपालमा साना कारको बिक्री गर्न पाएको छैन । नेपालमा फोर्डको आधिकारीक बिक्रेता जीओ फोर्ड हो । उसले अहिले पनि थाइल्याण्डमा उत्पादन भएका फोर्डका ठूला एसयूभी र पिकअप नेपाल ल्याएर बिक्री गर्दै आएको छ ।
यदि, भारतमा पुन फोर्डले उत्पादन थाल्ने र बजेट फ्रेन्डली ईभी बनाउने हो भने नेपालमा पनि ती उत्पादन बिक्री वितरणको लागि उपलब्ध हुनेछन् । यी सबै कुराको लागि फोर्ड मोटर्सले भारतमा उत्पादन थाल्ने घोषणा हुनुपर्छ ।


