कच्चा तेलको मूल्य साढे ३ महिना यताकै उच्च, फेरि १०० डलर नाघ्यो

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य साढे ३ महिना यताकै उच्च भएको छ । अमेरिका-इरान द्धन्द्ध चर्किएसँगै कच्चा तेलको भाउ फेरि आकाशिएको हो ।

बिहीबार बिहान अधिकांश मुख्य क्रुड बेन्चमार्कको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ । आयल प्राइस डटकमका अनुसार (आज बिहान ११ बजेसम्म) बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो साढे ३ महिना यताकै उच्च हो ।

यसअघि सन् २०२६ मे २१ मा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०१ डलर थियो । त्यसयता लगातार घटेको यसको भाउ गत जुनमा प्रतिब्यारेल ७२ डलरसम्म झरेको थियो । त्यसपछि फेरि बढ्न थालेको तेलको भाउ अहिले १०० डलर माथि पुगेको हो ।

यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआइ) क्रुड प्रतिब्यारेल ९६ डलर पुगेको छ । त्यसैगरी, एशियन बेन्चमार्क मुर्बान क्रुडको भाउ ५.५ प्रतिशतले बढेर प्रतिब्यारेल ११६ डलर पुगेको छ ।

पछिल्लो समय अमेरिकाले इरान लक्षित आक्रमण तीव्र बनाएको छ । दुवै देशले होर्मुज जलमार्ग हुँदै तेल ढुवानी गर्ने जहाजमा समेत आक्रमण गरिरहेका छन् । होर्मुज हुँदै विश्वको दैनिक खपतको करिब २० प्रतिशत तेल ढुवानी हुन्छ । साथै, विभिन्न तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भइरहेको छ । तेल आपूर्तिको अनिश्चितताका कारण मूल्य आकाशिएको हो ।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमा आक्रमण गरिेपछि कच्चा तेलको भाउ प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो ।

इन्धनको मूल्य बढ्दा समग्र विश्व अर्थतन्त्रै प्रभावित हुन्छ । आपूर्ति श्रृंखला प्रभावित हुँदा मँहगी बढ्छ । जसले नेपाललाई समेत ठूलो प्रभाव पार्नेछ । नेपालले हाल भारतबाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको मूल्य बढ्दा भारतमा पनि महँगिने र त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ ।


Back_to_top