काठमाडौं । नेपालमा कतिपय सवारीधनीले बिक्रेताले बिक्रीपछिको सेवा नदिएको गुनासो गर्दै आएका छन् ।
तर, फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भने आफ्ना ग्राहकलाई उत्पादन बन्द भए पनि ५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।
फोर्डले ९ सेप्टेम्बर २०२१ मा भारतमा आफ्ना सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो । भारतमा उत्पादन तथा बिक्री बन्द भए पनि नेपालमा भने जीओ अटोमोबाइल्सले ग्राहक सेवा तथा अन्तर्राष्ट्रिय फोर्ड मोडलहरूको विस्तारमार्फत आफ्नो उपस्थिति बलियो बनाइरहेको हो ।
कम्पनीले ५ वर्ष अघिका आफ्ना गहकलाई व्यावसायिक सर्भिस, जेन्युन स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता तथा ग्राहक सेवा उपलब्ध गराउँदै आएको छ । जसले फोर्डका ग्राहकको सहज र विश्वसनीय ओनरशिप एक्सपेरियन्स सुनिश्चित गरेको छ ।
सर्भिससँगै फोर्डले नेपालमा आफ्नो बिक्री सञ्चालनलाई पनि निरन्तरता दिँदै आएको छ । जीओ अटोमोबाइल्सले हाल फोर्डका अन्तर्राष्ट्रिय मोडलहरू फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड रेन्जर र्याप्टर नेपालमा उपलब्ध गराउँदै आएको छ।
साथै, जीओ अटोमोबाइल्सले आगामी दिनमा नेपाल बजारमा नयाँ फोर्ड मोडलहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जसले नेपालमा फोर्ड को उपस्थिति तथा उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्नेछ।
गाडी बिक्री मात्र गर्नु नभई ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नु र फोर्डका विश्वव्यापी उत्पादन तथा प्रविधिलाई नेपालमा निरन्तर ल्याउनु आफ्नो प्राथमिकता रहेको जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन् ।
‘फोर्डको ओनरशिप एउटा यात्रा हो । त्यो यात्रालाई विश्वासका साथ निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। हामी प्रत्येक फोर्ड ग्राहकलाई निरन्तर सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। साथै, फोर्ड का अन्तर्राष्ट्रिय मोडल तथा नयाँ उत्पादनहरू नेपालमा ल्याउने कार्यलाई पनि निरन्तरता दिनेछौँ । पाँच वर्षपछि पनि जीओ अटोमोबाइल्स को सन्देश स्पष्ट छ । नेपालमा फोर्ड को यात्रा निरन्तर छ । बलियो अफ्टर सेल्स समर्थन, विश्वव्यापी उत्पादन र आगामी दिनमा थप नयाँ मोडलहरूसहित आउने छौं,’उनले भने ।


