बुकिङकर्तालाई बिक्रेताको खबर : ‘तपाईंको गाडी बाटोमा छ’

काठमाडौं । दशैं-तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा नेपालमा गाडी बिक्री गर्ने कम्पनीहरू ग्राहकलाई आफ्नो बुकिङ गरेको गाडी समयमै उपलब्ध गराउन दौडधुप गरिरहेका छन् । आफ्ना बुकिङकर्ता अर्को ब्राण्डमा नजाउन् भन्ने आसयले बिक्रेताहरूले आफ्नो गाडी कोरोला नाका हुँदै नेपाल ल्याइरहेकाे प्रेस विज्ञप्ति नै जारी गरेर जानकारी दिन थालेका हुन् ।

विशेषगरी चीनबाट नेपाल आउने गाडीको नियमित नाका रसुवागढी बाढीको चपेटामा आएसँगै सप्लाईमा अवरोध आएको थियो । त्यसको लगत्तै चीनले तातोपानी नाकापनि जोखिमपूर्ण भनेर बन्द गरेपछि व्यवसायीहरू मुस्ताङको कोरला नाका हुँदै गाडी आयात गर्न जुटेका छन् ।

अहिले विभिन्न ब्राण्डका कारहरू कोरला नाका आइपुगेको तस्बिरहरू बाहिर आएका छन् । कोरोला भन्सार कार्यालयलाई पनि गाडी भन्सार जाँचपास गर्न भ्याइनभ्याइ छ ।

हामीले गरेको कुराकानीको आधारमा चेरी, बीवाइडी, नामी, आइकार, ओमोडा/जेको, आर्कफक्स, लिपमोटर, एमजी, जीडब्लूएम र स्काइवेल लगायतका ब्राण्डले कोरला नाकाबाट गाडी ल्याउने क्रममा छन् ।

चाडपर्वको मुखमै भएको नाकाको समस्याले अटो शोमा गाडी बुकिङ गरेर बसेका मानिसलाई गाडी दिन सकिँदैन कि भन्ने चिन्ता बिक्रेतामा छ भने उपभोक्ता गाडी पाइन्न कि भन्ने संशयमा छन् ।

बुकिङ गरेर बसेका ग्राहकलाई दशैं-तिहारअघि नै गाडी उपलब्ध गराउने लक्ष्यसहित कम्पनीहरू आपूर्ति व्यवस्थापनमा केन्द्रित भएका छन् । त्यही कारण कम्पनीहरूले ‘गाडी नेपाल आउँदैछ’, ‘गाडी बाटोमा छ’ वा ‘फलानो नाकाबाट गाडी आइरहेको छ’ भन्ने जानकारी विज्ञप्ति मार्फत गराउँदै आएका छन् ।

दशैंअघि नयाँ गाडी खरिद गर्ने ग्राहकको माग पनि बढ्ने भएकाले कम्पनीहरूलाई एकातर्फ अटो शोमा भएको बुकिङको डेलिभरी पूरा गर्नुपर्ने र अर्कोतर्फ चाडपर्वको बजार माग पूरा गर्नुपर्ने दबाब छन् । ईभीमा चर्को प्रतिस्पर्धा भइरहेको समयमा चीनबाट गाडी आउन नसक्दा भारतीय उत्पादनले बजारमा राम्रो गर्ने हो कि भन्ने चिन्ता पनि धेरैमा देखिन्छ ।

त्यसैले पछिल्लो समय देखिएको लगातारका विज्ञप्तिलाई केवल कम्पनीको प्रचारभन्दा बुकिङ गरेका ग्राहकलाई ‘तपाईंले छान्नुभएको गाडी नेपालतर्फ आइरहेको छ’ भन्ने सूचनाको रूपमा उनीहरूले पठाइरहेका छन् ।


Back_to_top