आयो बिगसको हालसम्मकै शक्तिशाली इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाँग्रे ब्राण्ड बिगसले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पोर्टफोलियो अन्तर्गत अहिलेसम्मकै सबैभन्दा शक्तिशाली इलेक्ट्रीक स्कुटर सी १२ म्याक्स आरको बिक्री सुरू गरेको हो ।

कम्पनीले भारतमा बिगस सी १२ म्याक्स आरको मूल्य १ लाख ४६ हजार भारु(एक्स शोरुम) तोकेको छ । म्याक्स आरमा ३.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको फुलचार्जमा १७८ किलोमिटर आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

स्कुटरमा ४.२ किलोवाट पिक पावर उत्पादन गर्ने हब माउण्टेड मोटर जडान गरिएको छ । जसको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको रहेको छ । यसमा इको, राइड र स्पोर्ट गरी तीन राइडिङ मोडसँगै रिभर्स मोड र क्रुज कन्ट्रोलसमेत उपलब्ध छ ।

स्कुटरमा कनेक्टिभिटी सिस्टम सहितको टीएफटी डिस्प्ले छ । जसमा टर्न बाइ टर्न नेभिगेसन, कल अलर्ट, राइड तथा चार्जिङ स्ट्याटिस्टिक्स र डकुमेन्ट स्टोरेज सुविधा पाइन्छ ।

त्यस्तै, प्यारेन्टल लक, स्पीड मोड सेलेक्सन र भेहिकल हेल्थ मनिटरिङ जस्ता कनेक्टेड फिचर पनि उपलब्ध छन् । यसमा दुईवटा हेल्मेट अट्ने ३८ लिटरको अन्डर सिट स्टोरेज, चार्जिङ पोर्ट, फल सेन्स, साइड स्ट्यान्ड सेन्सर पनि छ । स्कुटरमा पप आउट अम्ब्रेला होल्डर तथा कागजात वा वालेट राख्न लक गर्न मिल्ने छुट्टै कम्पार्टमेन्ट पनि दिइएको छ ।

नेपालमा पनि बिगसका स्कुटरहरू बिक्री भइरहेका छन् । नेपालका लागि बिगसको आधिकारिक बिक्रेता कम्पनी अग्नि मोटोइन्कले हाल नेपाली बजारमा आरयूभी ३५०, सी १२ म्याक्स र ओविन लगायतका मोडलहरू उपलब्ध गराएको छ ।


Back_to_top