काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी भेन्यू र भेन्यू एन लाइनका लागि एक अत्याधुनिक सुरक्षा फिचर सार्वजनिक गरेको छ ।
कम्पनीले यी दुवै एसयूभीका लागि ‘हुन्डाई ब्लुलिंक रिमोट इम्मोबिलाइजर’ नामको नयाँ सेफ्टी फिचर ल्याएको हो । कम्पनीले यो नयाँ फिचर ‘कन्ट्रोलर ओभर द एयर (सी-ओटीई) सफ्टवेयर अपडेटमार्फत गाडीमै उपलब्ध गराउने भएको हो ।
हाल यो फिचर हुन्डाई आयोनिक फाइभ एसयूभीमा उपलब्ध छ । यो फिचर मार्फत सवारीधनीले अब आफ्नो गाडी स्मार्टफोनबाटै इन्जिन बन्द वा लक (इम्मोबिलाइज) गर्न सक्नेछन् । पछिल्लो समय बढ्दै गएको चाबी क्लोनिङ जस्ता प्रविधिमार्फत हुने गाडी चोरी रोक्न यो फिचर निकै प्रभावकारी हुने कम्पनीको दाबी छ।
हुन्डाईका अनुसार यो फिचर हुन्डाई ब्लुलिंक स्मार्टफोन एपबाट सीधै चलाउन सकिन्छ। गाडी पार्क गरिएको समयमा यो फिचर अन गर्दा गाडीका केही मुख्य कामहरू रोकिन्छन्, र अनुमतिबिना गाडी पुनः स्टार्ट हुन सक्दैन ।
यदि गाडी चोरी भइसकेको शंका लागेमा पनि यो फिचर उपयोगी हुन्छ। पार्किङ गर्दा फिचर अन गरिएको थिएन भने पनि पछि एपमार्फत यसलाई सक्रिय बनाउन सकिन्छ।
यद्यपि, हुन्डाईले यसमा सुरक्षाको विशेष ध्यान दिएको छ। गाडी गुडिरहेको अवस्थामा रिमोट इम्मोबिलाइजरले गाडीलाई बीच बाटोमै रोक्ने वा बन्द गर्ने गर्दैन। ब्लुलिंकमा रहेको लाइभ लोकेसन ट्रयाकिङ मार्फत प्रहरीको सहयोगमा गाडी कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ। यी फिचरहरू गाडीको ब्याट्री, वायरिङ र नेटवर्क कनेक्टिभिटीमा आधारित हुन्छन् ।
पुराना गाडी धनीहरूले ओटीएबाटै पाउने
यो फिचर हाल सीसीएनसी प्रविधियुक्त भेन्यू एचएक्स १० र भेन्यू एन लाइन १० भेरियन्टहरूमा उपलब्ध गराइएको छ। नोभेम्बर २०२५ पछि बिक्री भएका यी भेरियन्टका सबै गाडीहरूमा वर्कशप नगईकनै ओटीए अपडेटमार्फत यो फिचर थपिनेछ।
सन् २०२६ सेप्टेम्बर २०२६ देखि बिक्री हुने गाडीमा भने यो फिचर पहिले नै उपलब्ध हुनेछ । हुन्डाईले यो फिचर आगामी दिनमा ब्लुलिंक भएका अन्य पुराना तथा नयाँ मोडलहरूमा पनि चरणबद्ध रूपमा प्रयोग गर्ने योजना बनाएको छ ।


