ट्रायम्फका मोटरसाइकलको मूल्य एकैपटक ३३ हजारसम्म बढ्यो, कुनमा कति ?

काठमाडौं । नेपालमा ट्रायम्फ मोटरसाइकलको मूल्य बढेको छ । नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हसंराज हुलासचन्द एण्ड कम्पनीले तीन मोडलको मूल्य बढाएको हो ।

कम्पनीले बिक्री गर्दै आइरहेको ट्रायम्फ मोटरसाइकलको स्क्रयाम्बलर ४०० एक्स, ४०० एक्ससी र स्पीड ४०० गरि तीन मोडलमा मूल्य बढाएको हो ।

कम्पनीले ट्रायम्फको स्क्रयाम्बलर ४०० एक्समा सबैभन्दा धेरै ३३ हजार रुपैयाँले मूल्य बढाएको छ । साथै, ट्रायम्फका अन्य दुई एक्ससी र स्पीड ४०० मा क्रमशः ३१ हजार रुपैयाँ र ३० हजार रुपैयाँले मूल्य वृद्धि भएको हो ।

नयाँ मूल्यअनुसार ट्रायम्फ ४०० एक्सको मूल्य ७ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि यो मोटरसाइकल ७ लाख ४४ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

त्यस्तै, ८ लाख २४ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री हुँदै आइरहेको एक्ससी मोडलको मूल्य ३१ हजार रुपैयाँ बढेर ८ लाख ५५ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, स्पीड ४०० को भने नयाँ मूल्य ७ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि ट्रायम्फ स्पीड ४०० मोटरसाइकल ६ लाख ८९ हजार ९०० रुपैयाँमा उपलब्ध थियो ।

यसका अलावा ट्रायम्फ नेपालले साउनमा सम्पन्न भएको नाइमा एक्सपोमा नयाँ ३५० सीसी इन्जिनमा आधारित स्पीड टी ४ को पनि बिक्री सुरू गरेको थियो । कम्पनीले यसमा भने मूल्य बढाएको छैन । नेपाली बजारमा ट्रायम्फ स्पीड टी ४ को मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top