१७ दिनपछि खुल्यो कृष्णभीरको सडक

काठमाडौं । पहिरोका कारण १७ दिनदेखि बन्द पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक निर्माण गरी संचालनमा आएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले भदौ १४ गते कृष्णभीरको करिब १०० मिटर सडक कटान गरेपछि बन्द उक्त सडक आज बिहान ६ बजेदेखि दुईतर्फी रुपमा संचालनमा आएको हो ।

कृष्णभीरमा पुरानो सडकभन्दा माथिल्लो पट्टी २७० मिटर नयाँ सडक निर्माण गरी आज बिहानदेखि संचालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

भदौ २० देखि नयाँ ट्रयाक खन्न थालिएको थियो । दिनरात दर्जन बढी उपकरण परिचालन गरी काम गरिएको थियो । दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउन रिटेनिङ वाल उठाउने र नाला व्यवस्थापनको काम भने अझै जारी छ ।

सुरक्षित आवागमनका लागि ट्राफिक संकेत, सूचना पाटी, क्रयास ब्यारियर, रिफ्लेक्टिभ टेप, तथा रातको समयमा फ्लड लाइटको व्यवस्था गरिएको छ।

सडक संचालनमा आए पनि विभिन्न स्थानमा जोखिम भने कायमै छ । पहिरो खस्ने, सडक भासिने, ढुंगा माटो खस्ने जोखिम रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रमुख लाइफ लाइन बन्द हुँदा उपत्यकामा आपूर्ति श्रृंखला नै बिथोलिएको थियो । जसकारण अचाक्ली महँगी बढेको छ ।


Back_to_top