काठमाडौं । बजाज अटोले आफ्नो लोकप्रिय पल्सर सिरिजका दुई मोडल एनएस २०० र एन २५० मोटरसाइकल अपग्रेड गरे बजारमा ल्याउने भएको छ ।
धमाधम पल्सर सिरिजका मोटरसाइकल अपडेट गरिरहेको बजाजले अब एनएस २०० र एन २५० मोडललाई अपग्रेड गर्ने भएको हो । कम्पनीले यसअघि एन १६०, नयाँ पुस्ताका क्लासिक पल्सर १२५ र पल्सर १५० अपग्रेड गरिसकेको छ ।
पल्सर एनएस २०० र एन २५० मोटरसाइकल हालै एकसाथ परीक्षणका क्रममा देखिएका छन् । परीक्षणका क्रममा देखिएका तस्बिर अनुसार दुवै मोटरसाइकलमा डिजाइनभन्दा पनि फिचर तथा उपकरणमा ठूलो परिवर्तन गरिने देखिएको छ ।
अपडेटेड पल्सर एनएस २०० र एन २५० मा नयाँ टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुने अपेक्षा गरिएको छ । यही डिस्प्ले पछिल्लो समय लन्च भएका नयाँ पुस्ताका क्लासिक पल्सरमा पनि प्रयोग गरिएको छ ।
मोटरसाइकलमा दिइने नयाँ टीएफटी डिस्प्लेमा ब्लुटुथ र वाइफाइमार्फत स्मार्टफोन कनेक्टिभिटी, आरसी, ड्राइभिङ लाइसेन्स तथा इन्स्योरेन्सजस्ता कागजात स्टोरेज सिस्टम, म्युजिक कन्ट्रोल, थर्ड पार्टी नोटिफिकेसन, गुगल म्याप मिररिङ र राइडिङ मोड परिवर्तन गर्ने सुविधा पाइन्छ ।
त्यस्तै, पल्सर २०० एनएसमा पनि अब ट्याक्सन कन्ट्रोल सिस्टम र राइडिङ मोड उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । साथै, मोडलअनुसार ल्याप टाइमर पनि उपलब्ध हुन सक्नेछ ।
अपडेटेड पल्सर एनएस २०० मा सबैभन्दा महत्वपूर्ण परिवर्तनका रूपमा डब्लूपी एपेक्स यूएसडी फ्रन्ट फोर्क देखिएको छ । डब्लूपी एपेक्स फोर्क डब्लूपी पर्फमेन्स सिस्टमको उत्पादन हो, जुन केटीएम एजी अन्तर्गत पर्छ । यसअघि भारतमा यस्ता उच्चस्तरीय सस्पेन्सन केटीएम र हस्कभर्नाका मोटरसाइकलमा प्रयोग हुँदै आएका थिए ।
बजाज लाइनअपको डब्लूपी एपेक्स फोर्क प्रयोग हुने एनएस पहिलो मोडल हो । पल्सर एन २५० मा भने डब्लूपी एपेक्स फोर्क उपलब्ध हुन्छ वा हुँदैन अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
दुवै मोडलमा पछिल्लो पल्सरबाट प्रेरित सुधारिएको स्वीचगियर प्रयोग गरिनेछ । नयाँ स्वीचगियर मुख्यतः टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर संचालन गर्न प्रयोग हुनेछ ।
दायाँतर्फको स्वीचगियरमा हाजार्ड लाइट र इन्जिन किल स्वीच देख्न सकिन्छ । यसबाहेक, पल्सर एनएस २०० मा एड्जस्टेबल लिभर पनि थपिने सम्भावना छ । दुवै मोटरसाइकलको हालको एस्थेटिक्स कायम राख्दै फिचर र उपकरणमा सुधार गरिने बताइएको छ ।

