यात्री पी २ मा १० वटा फिचर कस्टमाइज गर्न मिल्ने, कुनको कति लाग्छ ?

काठमाडौं । नेपालमै बनेको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ मा ग्राहकले आफ्नो इच्छा अनुसार फिचर र पार्ट्स कस्टमाइज (आफ्नो अर्डर अनुसार बनाउन) गर्न सक्ने भएका छन् ।

सिप्रदी यात्रीले ग्राहकलाई आफ्नो आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री, चार्जिङ क्षमता, एप, रङ, टेक फिचर लगायत सुविधाहरू कस्टमाइज गर्न पाउने सुविधा दिएको हो ।

यात्री पी २ को डिजाइन, रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएकाले कम्पनीले ग्राहकलाई फिचर कस्टमाइज सुविधा उपलब्ध गराएको हो ।

सिप्रदी यात्रीले यात्री पी २ तीन ब्याट्री र मोटर भेरियन्टमा उपलब्ध गराएको छ । ग्राहकले तिनै भेरियन्टमा आफ्नो इच्छा अनुसार विभिन्न फिचर थप्न सक्ने छन् ।

फिचर थप्दा ग्राहकले छुट्टै थप शुल्क तिर्नुपर्नेछ । जसकारण कम्पनीले तोकेभन्दा वास्तविक मूल्य धेरै पर्ने देखिन्छ । कम्पनीका अनुसार ग्राहकले भेरियन्ट अनुसार १० वटासम्म फिचर र पार्ट्स थप्न सक्नेछन् ।

ग्राहकले पी २ मा रेन्ज एक्सटेन्डर ब्याट्री, क्रुज कन्ट्रोल, कनेक्टीभिटी, रिजेन टेललाइट, ड्यास प्याक, प्रिमियम ह्याण्डलबार ग्रिप, प्रिमियम मिरर, मिचेलिन टायर, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत फिचर कस्टमाइज गर्न सक्नेछन् ।

कम्पनीले ३ किलोवाट आवरको ब्याट्री भेरियन्टको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ, ३.७ किलोवाट आवरको ३ लाख ९९ हजार ९०० रुपैयाँ र ५.२ किलोवाट आवरको ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ । यी भेरियन्टमा क्रमशः ६ किलोवाट, ८ किलोवाट र १० किलोवाटको इलेक्ट्रीक मोटर छ ।

कम्पनीले भेरियन्ट अनुसार फरक फरक फिचर कस्टमाइज गर्ने सुविधा दिएको छ । जसका लागि ग्राहकले थप १ लाख ६४ हजार रुपैयाँसम्म खर्चिनुपर्नेछ ।

फिचर कस्टमाइज गरी ग्राहकले आफ्नो स्कुटर थप आकर्षक, धेरै रेन्ज दिने, सुरक्षित र फिचर लोडेड बनाउन सक्ने कम्पनीले जनाएको छ ।

कुन फिचर थप्दा कति लाग्छ शुल्क ?

३ किलोवाट आवर भेरियन्ट : ग्राहकले यो भेरियन्टमा विभिन्न ७ फिचर तथा पार्ट्स कस्टमाइज गर्न सक्नेछन् । जसका लागि ग्राहकले थप ५२ हजार ७९० रुपैयाँसम्म तिर्नुपर्छ । कस्टमाइज गर्दा यो भेरियन्टको मूल्य ३ लाख ८३ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीका अनुसार यो भेरियन्टमा स्ट्याण्डर्ड कनेक्टिभिटी सिस्टम, क्रुज कन्ट्रोल, रिजेन टेल लाइट, ड्यास प्याक, मिचेलीन टायर, प्रिमियम मिरर र ह्याण्डलबार ग्रिप थप्न मिल्छ । जसमा स्ट्याण्डर्ड कनेक्टिभिटी सिस्टमको १९ हजार २०० रुपैयाँ, क्रुज कन्ट्रोलको ५ हजार, रिजेन टेल लाइटको २ हजार ५००, ड्यास प्याकको ५ हजार ६५०, मिचेलिन टायरको १६ हजार, प्रिमियम मिररको ३ हजार ४८० र ह्याण्डलबार ग्रिपको ९६० रुपैयाँ तिर्नुपर्छ ।

३.७ किलोवाट आवर भेरियन्ट : यो भेरियन्टमा विभिन्न १० वटा फिचर तथा पार्ट्स कस्टमाइज गर्न पाइने छ । सबै फिचर कस्टमाइज गर्दा १ लाख १६४ हजार १९० रुपैयाँ लाग्नेछ । कस्टमाइजपछि यो भेरियन्टको कुल मूल्य ५ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।

यसमा थप ५० किलोमिटर रेन्ज बढाउन १.८ किलोवाट आवरको रेन्ज एक्सटेन्डर ब्याट्री राख्न सकिन्छ । जसका लागि ९० हजार ६०० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, भेरियन्टमा एड्भान्स कनेक्टिभिटी सिस्टम जोड्नलाई थप २५ हजार रुपैयाँ रकम खर्च गर्नुपर्छ ।

त्यसैगरी, क्रुज कन्ट्रोलको ५ हजार, एन्टि थेप्ट प्याकको ५ हजार ८ वर्ष एक्सटेन्डेड वारेन्टीको ९ हजार ९९० रुपैयाँ, ड्यास प्याकको ५ हजार ६५०, मिचेलिन टायरको १६ हजार, प्रिमियम मिररको ३ हजार ४८० र ह्याण्डलबार ग्रिपको ९६० रुपैयाँ तिर्नुपर्छ ।

५.२ किलोवाट आवर भेरियन्ट : यो भेरियन्टमा यो भेरियन्टमा विभिन्न ७ वटा फिचर तथा पार्ट्स कस्टमाइज गर्न किल्छ । ७ वटै फिचर राख्दा थप १ लाख ४९ हजार ४४० रुपैयाँ लाग्नेछ । कस्टमाइजपछि यो भेरियन्टको कुल मूल्य ६ लाख ४९ हजार रुपैयाँ पुग्नेछ ।

यसमा पनि १.८ किलोवाट आवरको रेन्ज एक्सटेन्डर ब्याट्री राख्न ९० हजार ६०० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, २००० वाटको र्यापिड चार्जरका लागि २९ हजार रुपैयाँ, मिचेलिन टायरको १६ हजार, प्रिमियम मिररको ३ हजार ४८०, प्रिमियम ह्याण्डलबार ग्रिपको ९६० रुपैयाँ, ड्यासप्याकको ५हजार ६५० रुपैयाँ र टायर प्रेसर मनिटरिङ सिस्टमको ३ हजार ७५० रुपैयाँ तिर्नुपर्छ ।


Back_to_top