निकै ठूलो साइजमा आउँदै दोस्रो पुस्ताको एटो वान

काठमाडौं । बीवाइडीको चर्चित ह्याचब्याक सिगल (नेपालमा एटो वान)को सेकेण्ड जेनेरेसन हालकोभन्दा निकै ठूलो साइजमा आउने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको एटो वानको दोस्रो पुस्ताको आधिकारिक डिजाइन स्केच अनुसार अहिलेकोभन्दा ४२५ एमएम लामो साइजमा आउने भएको हो ।

बीवाइडीको ओसियन सिरिजका बिक्री प्रमुख झाङ झुओले मंगलबार सामाजिक सञ्जाल वेइबो मार्फत दोस्रो पुस्ताको सिगलका स्केचहरू सार्वजनिक गरेका हुन् । उनले नयाँ मोडलमा ‘पुनः परिभाषित गरिएका रेखा र नयाँ बाहिरी बनावट’ रहने उल्लेख गर्दै थप विवरणहरू चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।

उनले यसअघि यो मोडल ‘ग्रेट सिगल’ नामबाट स्वदेशी बजारमा भित्रिने जानकारी दिएका थिए। यद्यपि, आफ्नो पछिल्लो पोस्टमा भने उनले यसलाई ‘दोस्रो पुस्ताको सिगल’ भनेर सम्बोधन गरेका छन्।

सन् २०२६ मा बिक्रीमा आएको मन्दीलाई मध्यनजर गर्दै बीवाइडीले एटो वानलाई नयाँ डिजाइनमा बजारमा ल्याउने तयारी गरेको हो । दोस्रो पुस्ताको सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ हालकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो ।

दोसो पुस्ताको सिगलको डिजाइन निकै आकर्षक देखिएको छ । यसको अगाडि ठूला त्रिशूल आकारका हेडलाइट, तिखा बडी सर्फेस र फराकिला ह्वील आर्चहरू प्रयोग गरिएका छन् । थप डाइनामिक लुक दिनका लागि यसको ग्लास लाइनलाई अलि तल राखिएको छ ।

यसको इन्टेरियरले धेरै स्पेसका साथै पूर्ण रूपमा नयाँ लेआउट पाउने छ । दोस्रो पुस्ताको सिगलको क्याबिनका अघिल्ला स्पाइ तस्बिरहरूले एउटा फ्लोटिङ स्क्रीन, स्टेयरिङ ह्वीलको पछाडि गियर सिफ्टर र ठूलो सेन्टर टनेल देखाएका थिए । अन्य मुख्य आकर्षणहरूमा आठ स्पोकयुक्त १६ इन्चको रिम र पातलो टेललाइटहरू समावेश छन्।

नयाँ सिगलमा ९५ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग हुनेछ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १५० किमी रहेको छ ।


Back_to_top