कान्ति लोकपथ र भैँसे-भीमफेदी-कुलेखानी सडकमा सवारी चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ र भैँसे-भीमफेदी-देउराली-कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी संचालनमा रोक लगाएको छ।

प्रशासनले बुधबार एक सूचना जारी गर्दै भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै ती सडकमा सवारी चलाउन रोक लगाएको जानकारी गराएको हो ।

प्रशासनका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइने छ ।

त्यस्तै, भैँसे-भीमफेदी-देउराली-कुलेखानी सडकखण्डमा बिहान ५ देखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भञ्ज्याङबाट हेटौँडातर्फ सवारी जान दिइने छ ।

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-देउराली-कुलेखानी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासनले जनाएको छ।

भारी वर्षाका कारण बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।


Back_to_top