साझाले किन्यो ५ वटा विद्युतीय माइक्रोबस, ललितपुरमा गुडाउने

काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय माइक्रोबस किनेको छ । साझाले ललितपुर महानरपालिकासँगको सहकार्यमा ती माइक्रोबस खरिद गरेको हो ।

साझाले किङलङ ब्राण्डका १६ सिट क्षमतामा माइक्रोबस किनेको हो । नेपालका लागि किङलङको आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार साझालाई ५ वटा इलेक्ट्रीक माइक्रोबस हस्तान्तरण गरेको हो ।

यी माइक्रोबस खरिदका लागि साझा र ललितपुर महानगर दुवैले लगानी गरेका छन् । यद्यपि, रकम भने खुलाइएको छैन ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले ललितपुर महानगरसँगको सहकार्यमा ५ वटा इलेक्ट्रीक माइक्रोबस किनिएको जानकारी दिए ।

उनका अनुसार ती माइक्रोबस ललितपुर महानगरपालिका क्षेत्र  भित्र संचालन गर्ने गरी खरिद गरिएको हो । महानगरसँग समन्वय गरी रुटको टुंगो लगाइने उनले बताए । दशैं अघि नै ती माइक्रोबस संचालनमा ल्याउने योजना रहेको उनको भनाइ छ ।

‘ललितपुर महानगर र साझाको संयुक्त लगानीमा ५ वटा इलेक्ट्रीक माइक्रोबस खरिद गरेका छौं । ती माइक्रोबस ललितपुरमहानगर भित्रका विभिन्न रुटमा गुड्ने छन् । दशैंअघि नै संचालनमा ल्याउँछौं,’ उनले मेरोअटोसँग भने ।

साझाले स्वच्छ, वातावरणमैत्री र किफायति सार्वजनिक यातायातमा जोड दिँदै विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । कम्पनीले हाल उपत्यकामा ४० वटा विद्युतीय बस संचालन गरिरहेको छ ।

वि.सं २०१८ मा स्थापना भएको साझाले हाल काठमाडौं उपत्यकासहित उपत्यका बाहिर म्याग्दी, बागलुङ, पोखरा लगायत स्थानहरूमा लामो दूरीको बस सेवा प्रदान गर्दै आएको छ ।

साझा यातायातका संघीय सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरसहितको लगानी छ ।


Back_to_top