काठमाडौं । काठमाडौं जोड्ने प्रमुख लाइफलाइन पृथ्वी राजमार्गको मलेखु-मुग्लिन खण्डको डेढदर्जन बढी स्थानमा पहिरो गएको छ ।
३ दिनदेखि परेको अविरल वर्षाका कारण यो सडकको १५ बढी स्थानमा पहिरो गएको हो । साथै, विभिन्न ठाउँमा सडक भासिएको छ ।
सडकमा लेदोसहितको पहिरो, ठूला ढुंगा, रुख खसेपछि सवारी साधन संचालन पूर्ण रूपमा ठप्प भएको छ ।
सडक विभागका अनुसार कृष्णभीर, चौकीभीर, घोप्टेभीर, सिमलधारा क्षेत्रमा ठूलो पहिरो खसेको छ । त्यसैगरी, शीतलबजार, गोमति खोला, हुग्दी खोला,, जवाङ खोला, फिस्लिङ, धारापानी, चुम्लिङटार,१२ किलो, बाङ्गे मोड, पोखरेखोला लगायत स्थानमा पनि पहिरो खसेको विभागले जनाएको छ ।
धारापानी, शीलतबजारमा लेदो पन्छाएर एकतर्फी सवारी चलाउने प्रयास भइरहेको छ । वर्षा निरन्तर रहेको र केही ठाउँमा पहिरो झरिरहेकाले तत्कालै सबै ठाउँमा सडक खुलाउन सकिने अवस्था छैन । यद्यपि, पानी रोकिना साथ पहिरो हटाउन डोजर, एस्काभेटर लगायत उपकरण परिचालन गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
करिब डेढ दर्जन बढी ठाउँमा बाटो अवरुद्ध रहेकाले पूर्ण रूपमा नखुलेसम्म उक्त सडक हुँदै यात्रा नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।

