काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक भएका दुई सहर केन्द्रित क्रसओभर मोडल अझै राम्रोसँग बजारमा आउन पाएका छैनन् । आर्कफक्सको टी-१ केही युनिट डेलिभरी भए पनि चेरी क्यू आइपुगेको छैन ।
साउन अन्तिम साताबाट बजार प्रवेश गरेका यी दुवै क्रसओभर बुकिङ गरेर बस्नेहरूले दशैं अगाडि गाडी पाउँछन् वा पाउँदैनन् भन्ने अन्योल कायमै छ । तर, मौसममा सुधार हुँदै गएको खण्डमा अबको दुई सातामा यी दुवै कार धेरै थोरै पक्कै बजारमा आउने छन् ।
यी दुई कार मध्ये चेरी क्यू बुकिङको हिसाबले धेरै भएको कम्पनी स्रोतले बतायो । पायोनीयर मोटोकर्पले नेपाल ल्याएको चेरी क्यू दशैं अगाडि उपभोक्तालाई दिनेगरी काम भइरहेको कम्पनीको भनाइ छ ।
‘हाम्रो गाडी बाटोमै छ । नेपालतर्फको बाटो ठिकठाक भएको खण्डमा केही दिनमै गाडी आइपुग्छ । हामी डेलिभरी सुरू गर्छौं,’ कम्पनी स्रोतले भन्यो ।
आर्कफक्स टी-१ मोडल भदौको दोस्रो सातानै राम्रो संख्यामा डेलिभरीको योजना बनेको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहब स्रोतले भन्यो, ‘भदौ १० गते आएको भोटेकोशीको बाढीमा धेरै गाडी बग्यो । थप गाडी अहिले आइरहेको छ । केही दिनमै काठमाडौं ल्याउने योजना छ ।’

यी दुई गाडी एउटै सेग्मेन्टमा उपलब्ध हुन्छन् । त्यसैले यस पटकको नयाँ मोडलमा यी दुई बीचको प्रतिस्पर्धा पनि रोचक हुने धेरैले अनुमान लगाएका छन् । यस्तोमा यी दुई गाडीमा रहेका भिन्नता र समानता हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
मूल्यमा अन्तर
चीनमा चेरी क्यूलाई कम मूल्यमा धेरै सुविधा पाइने ‘भ्यालु फर मनी’ कार भनिन्छ । जबकि त्यहीँ बजारमा आर्कफक्स टी-१ तुलनात्मक रूपमा प्रिमियम मानिन्छ ।
नेपाली बजारमा आर्कफक्स टी-१ को एलभी-२ भेरियन्टको मूल्य ३२ लाख ९६ हजार र एलभी-३ भेरियन्टको ३५ लाख ९६ हजार तोकिएको छ ।
चेरी क्यूको मूल्य भने अलि ‘ट्रिकी’ तरिकाले राखिएको छ । क्यू पनि २ भेरियन्टमै उपलब्ध छ । चेरी क्यू कम्र्फटको मूल्य ३४ लाख ४९ हजार राखेर त्यसमा छुट दिँदै ३० लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार तोकेर छुट गर्दै ३३ लाख ९९ हजार कायम गरिएको छ ।

यसरी हेर्दा मूल्यका आधारमा साँच्चै यी दुई मोडल एक अर्काको कडा प्रतिस्पर्धी हुन् ।
धेरै कुरामा समानता पाइने
आर्कफक्स टी-वान र चेरी क्यूमा धेरै समानता भेटिन्छ । दुवैमा लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री छ । ब्याट्री क्षमता र मोटर पावरमा पनि ठूलो अन्तर देखिँदैन ।
नेपाली बजारमा चेरी क्यू ४१.३ किलोवाट आवर क्षमतको ब्याट्रीमा छ । त्योभन्दा थोरै बढी ४२ किलोवाट आवरको ब्याट्री आर्कफक्स उपलब्ध छ । मोटर पावरका हिसाबले चेरी क्यूमा ९० किलोवाटको मोटर छ । जबकि टी-१मा ९५ किलोवाटको मोटर पाउन सकिन्छ ।
ब्याट्री र मोटर क्षमताको आधारमा दुवै कारको वास्तविक सडक रेन्ज करिब ३००-३५० किलोमिटरको बीचमा रहने अनुमान गर्न सकिन्छ ।
साइजमा टी-१ अगाडि
दुवै कारको सबैभन्दा स्पष्ट अन्तर बडी साइजमा देखिन्छ । आर्कफक्स टी-१ चेरी क्यूभन्दा ठूलो छ । टी-वानको लम्बाइ ४३३७ एमएम, चौडाइ १८६० एमएम र ह्वीलबेस २७७० एमएम छ ।
चेरी क्यूको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र ह्वीलबेस २७०० एमएम छ । यी दुईको भिन्नताको ठूलो कुरा नै साइजमा देखिन्छ ।
स्मार्ट फिचरमा पनि दुवै बीच प्रतिस्पर्धा
यी दुई कारको प्रतिस्पर्धा स्पेसिफिकेसनमा मात्र सीमित छैन । दुवै मोडलमा ठूलो इन्फोटेनमेन्ट स्क्रीन, स्मार्ट कनेक्टिभिटी र एआई भ्वाइस असिस्टेन्स जस्ता आधुनिक फिचर उपलब्ध छन् ।
युवा ग्राहकलाई लक्षित डिजाइन, डिजिटल इन्टेरियर र स्मार्ट फिचरले यी कारलाई परम्परागत कारभन्दा फरक बनाएका छन् ।
एउटै बजार, फरक रणनीति
यहीँबाट यी दुई कारको वास्तविक प्रतिस्पर्धा सुरू हुन्छ । चेरी क्यूले मूल्य र प्रयोगलाई बलियो पक्ष मान्छ । टी-वानले ठूलो बडी, प्रिमियम अनुभूति र थप पावरमार्फत ग्राहक आकर्षित हुने विश्वास गर्छ ।
ईभी खरिद गर्ने ग्राहकको प्राथमिकता पनि एउटै छैनन् । केही ग्राहकका लागि मूल्य र रेन्ज मुख्य विषय हुन्छ । केहीका लागि डिजाइन, स्पेस, पावर र प्रिमियम फिचरले तान्छ । त्यसैले समान ब्याट्री क्षमता र रेन्ज भए पनि यी दुई मोडलले फरक ग्राहक समूहलाई लक्षित गर्न सक्ने सम्भावना छ ।
यी दुई मोडल बीचको रोचक प्रतिस्पर्धा सडकमा गुड्न थालेसँगै थप आँकलन गर्न सकिन्छ । अहिले बुकिङकर्तादेखि बिक्रेतासम्म कसरी गाडी ल्याउने भन्ने ध्यानमै देखिन्छन् ।

