ब्याट्री स्वापमा ठूलो सहकार्य, जिलीले किन्यो नियो पावरको ३०% सेयर

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी जिली होल्डिङ ग्रुपले नियोको ब्याट्री स्वाप कम्पनी नियो पावरको ३० प्रतिशत सेयर खरिद गर्ने भएको छ ।

जिलीले विद्युतीय सवारी साधनको ब्याट्री स्वाप व्यवसायमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यले नियो पावरमा लगानी गरेको हो । दुई ठूला सवारी निर्माता कम्पनीहरू बीच चार्जिङ र ब्याट्री स्वाप पूर्वाधार सुदृढ गर्ने उद्देश्यले सोमबार सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार जिली होल्डिङले नियो पावरमा ३० प्रतिशत हिस्सा प्राप्त गर्नेछ। त्यसका लागि जिली होल्डिङले आफ्नो ब्याट्री स्वाप व्यवसाय ‘यीयी पावर’को सम्पूर्ण इक्विटी हिस्सा र ६४ करोड चिनियाँ युआन (९ करोड ४८ लाख अमेरिकी डलर) नगद लगानी गर्नेछ।

यसपछि नियो पावरको मूल्यांकन करिब १६ अर्ब चिनियाँ युआन (२ अर्ब ३७ करोड अमेरिकी डलर) पुग्ने नियोले हङकङ स्टक एक्सचेन्जमा सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

कारोबार पूरा भएपछि नियो चाइनासँग नियो पावरको ६३.६ प्रतिशत हिस्सा रहनेछ। यस्तै, यसअघि लगानी गरेको वुहान ग्वाङछुआङ इमर्जिङ टेक्नोलोजी फेज-१ भेन्चर क्यापिटल फन्डसँग ६.४ प्रतिशत हिस्सा रहनेछ।

यो सम्झौतासँगै जिलीको व्यावसायिक सवारी साधनका लागि संचालन भइरहेको ब्याट्री स्वाप व्यवसाय नियो पावरमा समावेश हुनेछ। यसअघि प्राविधिक मापदण्ड र नेटवर्क साझेदारीमा सीमित रहेको नियो र जिलीबीचको सहकार्य अब प्रत्यक्ष व्यावसायिक एकीकरणतर्फ अघि बढेको हो।

यीयी पावरको व्यावसायिक सवारीसाधनका लागि संचालन भइरहेको ब्याट्री स्वाप नेटवर्कलाई नियो पावरमा एकीकृत गरिनेछ। नियो पावरले उक्त नेटवर्कलाई थप विस्तार तथा व्यवस्थित गर्दै ब्याट्री स्वाप व्यवसायको वृद्धि गर्ने योजना बनाएको छ।

जिलीको ३० प्रतिशत हिस्सेदारी भने निश्चित संचालनगत लक्ष्यसँग जोडिएको छ। व्यवसायले तोकिएको प्रदर्शन हासिल गर्न नसकेमा जिलीको हिस्सा घट्न सक्नेछ। तर, यस्तो अवस्थामा पनि जिलीको हिस्सा २० प्रतिशतभन्दा तल नझर्ने व्यवस्था गरिएको छ।

जिलीलाई नियो पावरमा थप ६४ करोड चिनियाँ युआन नगद लगानी गर्ने विकल्पसमेत दिइएको छ। उक्त विकल्प प्रयोग गरेमा जिलीको हिस्सा ३४ प्रतिशत पुग्न सक्नेछ भने नियो चाइनाको हिस्सा ६० प्रतिशतमा झर्नेछ।

यो अतिरिक्त लगानीको विकल्प कारोबार पूरा भएको २ वर्षभित्र वा नियो पावरले नयाँ लगानी चरणका लागि बाध्यकारी सम्झौता गर्नुअघि, जुन पहिले हुन्छ, प्रयोग गरिसक्नुपर्नेछ।

ब्याट्री स्वापसँगै दुवै कम्पनीले विद्युतीय सवारी चार्जिङ पूर्वाधारमा समेत सहकार्य विस्तार गर्ने भएका छन्। नियो चाइनाले जिलीको झेजियाङ हाओहान इनर्जी टेक्नोलोजी कम्पनीमा लगानी गरी नयाँ जारी हुने सेयरमार्फत १० प्रतिशत हिस्सा लिनेछ। हाओहान इनर्जीले उक्त रकम प्रयोग गरी नियोका केही चार्जिङ सम्पत्ति खरिद गर्नेछ।

यस कारोबारमा लगानी हुने रकम भने सार्वजनिक गरिएको छैन। नियामकीय स्वीकृति तथा अन्य आवश्यक प्रक्रिया पूरा भएपछि मात्र कारोबार सम्पन्न हुनेछ।

दुवै कम्पनीले आफ्ना चार्जिङ नेटवर्कलाई एकअर्कासँग पूर्ण रूपमा जोड्ने, चार्जिङ पहुँच विस्तार गर्ने र संचालन दक्षता बढाउने योजना बनाएका छन्।

जिली र नियोले उपभोक्ता विद्युतीय सवारीका लागि एकीकृत ब्याट्री स्वाप प्रविधि तथा मापदण्ड विकास गर्ने योजना पनि अघि सारेका छन्। जिलीले ब्याट्री स्वाप गर्न मिल्ने विद्युतीय सवारीसाधन विकास गर्नेछ भने नियो पावरले त्यस्ता सवारीसाधनका लागि ब्याट्री स्वाप सेवा उपलब्ध गराउनेछ।

नियो पावरले सन् २०३० सम्म विश्वभर १० हजार ब्याट्री स्वाप स्टेसन संचालन गर्ने लक्ष्य राखेको छ। त्यतिबेला यी स्टेसनबाट वार्षिक १० अर्ब किलोवाट आवरभन्दा बढी विद्युत् खपत हुने नियोको अनुमान छ।

त्यस्तै, जिलीले सन् २०२७ को अन्त्यसम्म २२ हजारभन्दा बढी चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ । ती स्टेसनमा १ लाखभन्दा बढी चार्जिङ कनेक्टर हुनेछन् । जिलीले तीमध्ये १५ हजारभन्दा बढी स्मार्ट चार्जिङ स्टेसन र ५० हजारभन्दा बढी स्मार्ट चार्जिङ कनेक्टर निर्माण गर्ने लक्ष्य राखेको छ।


Back_to_top