काठमाडौं । पछिल्ला दुई वर्ष नेपालमा विद्युतीय कारको बजार तीव्र गतिले विस्तार भयो । नयाँ नयाँ ब्राण्ड बजारमा प्रवेश गरे ।
चिनियाँ ब्राण्डको बाहुल्य रहेको यो दौडमा दुई वर्षकै अवधिमा करिब दुई दर्जनभन्दा बढी विद्युतीय कार ब्राण्ड बिक्रीका लागि उपलब्ध भए ।
ईभीको प्रयोग बढ्दै जानु अटो बजारका लागि सकारात्मक संकेत भए पनि सीमित बजारमा यति ठूलो संख्यामा ब्राण्ड थपिनु बिक्रेता र उपभोक्ता दुवैका लागि चुनौतीपूर्ण बन्ने देखिँदैछ ।
वार्षिक करिब १५ हजार युनिट हाराहारीमा सीमित कार बजारमा ईभी बिक्री गर्ने यति धेरै ब्राण्ड टिक्ने अवस्था छँदै छैन । कमजोर कम्पनी बन्द हुने पक्का छ । कसको नम्बर कहिले आउँछ भन्ने मात्रै हो ।
ग्राहकले गाडी खरिदपछि पाउने सर्भिस, स्पेयर पार्ट्स, चार्जिङ सुविधा र दीर्घकालीन सपोर्टलाई समेत प्राथमिकतामा राखेर काम गर्ने ब्राण्डहरू बच्छन् । अन्य ब्राण्ड हुने बन्द नै हो ।
यही कारण पछिल्लो समय नेपालमा ईभी बिक्री गरिरहेका ठूला बिक्रेताहरू बिक्रीसँगै बिक्रीपछिको सेवामा लगानी बढाउन बाध्य देखिएका छन् । बजारमा ठूलो संख्यामा गाडी गुड्न थालेपछि सर्भिस सेन्टरको क्षमता, प्राविधिक जनशक्ति र स्पेयर पाट्र्सको उपलब्धता बिक्रेताका लागि मुख्य चुनौती बनेको छ ।
बीवाइडी : बिक्रीसँगै सर्भिस नेटवर्क विस्तारको योजना
नेपालमा ठूलो संख्यामा ईभी बिक्री गर्ने कम्पनीमध्ये बीवाइडीको बिक्रेता साइमेक्स इंक पहिलो नम्बरमा आउँछ । साइमेक्सको आफ्नै र देशभरका डिलरमा चालु अवस्थामा रहेको सर्भिस सेन्टरको संख्या १३ रहेको छ ।

ग्राहक संख्या बढ्दै जाँदा अहिले रहेका सर्भिस सेन्टरले ठूला सहरी क्षेत्रमा चाप थेग्न कठिन भएसँगै कम्पनीले सर्भिस पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । साइमेक्सले चालु आर्थिक वर्षको अन्त्यसम्ममा १८ वटा सर्भिस सेन्टर पुर्याउने भएको हो ।
एमजी : सुरूदेखि नै सर्भिसमा लगानी
पारामाउन्ट मोटर्स अन्तर्गत एमजी र वुलिङजस्ता ब्राण्ड छन् । नेपालमा ईभीका लागि सुविधा सम्पन्न सर्भिस पूर्वाधार निर्माण गर्ने सुरूवाती कम्पनीमध्ये पारामाउन्ट मोटर्स एक हो ।
ललितपुरको कुसुन्तीमा रहेको कम्पनीको सर्भिस सेन्टर ईभी केन्द्रित सुविधाले भरिपूर्ण मानिन्छ । धुम्बाराही र भक्तपुरमा पनि कम्पनीले लामो समयदेखि सर्भिस सुविधा दिँदै आएको छ ।

पारामाउन्टका अनुसार ईभीको संख्या बढ्दै जाँदा विद्यमान सर्भिस सेन्टरको क्षमता विस्तारसँगै उपत्यकामा थप सर्भिस पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । कम्पनीसँग अहिले देशभर ९ वटा सर्भिस सेन्टर छन् । छिट्टै दाङ र लहानमा पनि थप्ने कम्पनीको भनाइ छ ।
सारडा ग्रुप : बिक्रीसँगै छुट्टै सर्भिस पूर्वाधार
चिनियाँ ब्राण्ड आगमनसँगै तीव्र गतिमा अघि बढिरहेको अर्को समूह हो सारडा ग्रुप । यस ग्रुपअन्तर्गत एसपीजी अटोमोबाइल्स र पायोनियर मोटोकर्पमार्फत ओमोडा/जेको, आइकार, जिकर र चेरी क्यूजस्ता ब्राण्ड नेपाली बजारमा छन् ।
कम्पनीका अनुसार बिक्री बढ्दै जाँदा सर्भिस पूर्वाधारलाई पनि सोहीअनुसार विस्तार गर्ने रणनीति बनाइएको छ । कम्पनीसँग अहिले उपत्यका र बाहिर गरेर ११ वटा सर्भिस सेन्टर संचालनमा छ । आगामी ६ महिना भित्र अर्को एउटा सर्भिस सेन्टर उपत्यकामा थप्न लागिएको कम्पनीले जनाएको छ । साथै, उपत्यका बाहिर इटहरीमा पनि आगामी ३ महिना भित्र अर्को सर्भिस सेन्टर संचालनमा आउने कम्पनीले जनाएको छ ।

सारडा ग्रुपका लागि अर्को बलियो पक्ष भनेको लामो समयदेखि नेपाली अटो बजारमा रहेको अनुभव हो । ग्रुपले निसानसँगको व्यवसायबाट विकसित प्राविधिक जनशक्ति र सर्भिस सम्बन्धी अनुभवलाई नयाँ ईभी ब्राण्डमा प्रयोग गर्दै आएको छ ।
एमएडब्लू ग्रुप : बिक्री र सर्भिस विस्तार एउटै गतिमा
एमएडब्लू ग्रुप पनि पछिल्लो समय चिनियाँ ईभी ब्राण्ड विस्तारमा आक्रामक देखिएको समूह हो । सेरेस, दीपल र नामी जस्ता ब्राण्डका गाडी बिक्री तीव्र गतिमा बढेपछि कम्पनीमाथि सर्भिस नेटवर्क विस्तारको दबाब पनि बढ्दैछ ।
६० वर्षभन्दा बढीको अटोमोबाइल तथा सर्भिस व्यवसायको अनुभवी एमएडब्लू ग्रुपले नयाँ ईभी ब्राण्डको बिक्री सुरू भएको गतिसँगै सर्भिस पूर्वाधार विस्तार थालेको जनाएको छ । कम्पनीसँग डोङफेङ नामी र चांगान ब्राण्डको लागि अलगै सर्भिस सेन्टरहरू छन् ।
नामीको लागि देशभर १२ सर्भिस सेन्टर छ । त्यसैगरी दीपलको लागि पनि ९ सर्भिस नेटवर्क तयार छन् । उपत्यकामा बढ्दो गाडीको चापलाई ध्यानमा राखेर थप स्थानमा सर्भिस सेन्टर निर्माण भइरहेको ग्रुपको भनाइ छ ।

कम्पनीका अनुसार ग्राहकलाई सर्भिस तथा स्पेयर पाट्र्सको उपलब्धतामा ढुक्क हुने वातावरण बनाउन पूर्वाधार विस्तारमा काम भइरहेको छ । एमएडब्लूले ईभी चार्जिङ नेटवर्क विस्तार पनि आक्रमक कम्पनी हो ।
ग्रेटवाल : बिक्री अघि नै सर्भिस पूर्वाधारमा जोड
ग्रेटवाल मोटर्सले नेपालमा अहिलेसम्म अन्य केही ठूला ईभी ब्राण्डजस्तो ठूलो संख्यामा गाडी बिक्री गरेको छैन । तर, कम्पनीले बिक्रीको आकारभन्दा बाहिर गएर सर्भिस पूर्वाधारमा लगानी गरिरहेको जनाएको छ ।
ललितपुरको यूएन पार्क नजिकै ठूलो र सुविधासम्पन्न सर्भिस सेन्टर संचालनमा रहेको कम्पनीले जनाएको छ । ईभी बजारमा आफ्नो उपस्थितिलाई आक्रामक बनाउने तयारीसँगै उपत्यकाको अर्को स्थानमा समेत सर्भिस सेन्टर विस्तार गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ ।

ग्रेटवालका अनुसार देशभर ७ स्थानमा सर्भिस सेन्टर संचालनमा छन् । नयाँ ६ स्थानमा निर्माण कार्य अगाडि बढिसकेको कम्पनीले जनाएको छ । यसले नयाँ ब्राण्डका लागि बजार प्रवेशसँगै बिक्रीपछिको सेवाको आधार तयार गर्नु कति महत्वपूर्ण बन्दै गएको छ भन्ने देखाउँछ ।
लक्ष्मी ग्रुप : पुरानो नेटवर्कको अनुभवमा नयाँ ईभी
लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी इमोबिलिटी र लक्ष्मी मोटरहबमार्फत विभिन्न चिनियाँ ब्राण्ड नेपाली बजारमा प्रवेश गरेका छन् । ग्रुपसँग हुन्डाईको लामो समयदेखिको बिक्री तथा सर्भिस नेटवर्कको अनुभव छ ।
जेटोर, आर्कफक्स, बीएआईसी, केई र फरथिङजस्ता ब्राण्डका ईभीसँगै नयाँ चिनियाँ ब्राण्ड विस्तार गरिरहेको लक्ष्मी ग्रुपका लागि सर्भिस नेटवर्क र प्राविधिक जनशक्तिको अनुभव उपयोग गर्ने आधार बलियो देखिन्छ ।

कम्पनीले नयाँ ब्राण्ड विस्तारसँगै सर्भिस पूर्वाधारलाई पनि विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ । अहिलेसम्म कम्पनीले ६ स्थानमा चिनियाँ ब्राण्डको सर्भिस विस्तार गरिसकेको छ । थप ७ स्थानमा निर्माणको चरणमा रहेको कम्पनीको भनाइ छ ।
सीजी मोटर : कारसँगै कमर्सियल ईभीमा पनि विस्तार
सीजी मोटर पछिल्लो दुई वर्षमा ईभी आयातमा आक्रामक रूपमा अघि बढेको कम्पनी हो । कम्पनीको रणनीति यात्रुवाहक कारमा मात्र सीमित छैन । लाइट कमर्सियल इलेक्ट्रीक भेहिकलतर्फ पनि कम्पनीले आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।
गाडीको बिक्रीसँगै सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधार विस्तारलाई पनि तीव्रता दिइरहेको कम्पनीले देशभर ४४ स्थान डिलर संचालन गरिरहेको छ । सबै डिलरमा क्रमिक रूपमा सर्भिस सुविधा उपलब्ध हुँदै गराएको कम्पनीको भनाइ छ ।

व्यावसायिक प्रयोजनका ईभीको संख्या बढ्दै जाँदा नियमित सर्भिस र चार्जिङ सुविधा झन् महत्वपूर्ण हुने भएकाले त्यसतर्फ पूर्वाधार विस्तार गरिरहेको कम्पनीको भनाइ छ ।
लिपमोटर : डिलर र सर्भिस साथसाथ
लिपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले डिलर विस्तारसँगै ईभी चार्जिङ स्टेशन र सर्भिस सेन्टर विकास गर्दै गएको छ । कम्पनीले उपत्यकामा सुविधा सम्पन्न नयाँ सर्भिस सेन्टर तयार पारेको छ ।
आफ्नो प्रोडक्ट लाइनअप बलियो बन्दै गएसँगै लिपमोटरको नेटवर्क पनि बलियो बनाउँदै लगेको देखिन्छ । कम्पनीसँग अहिले उपत्यका र उपत्यका बाहिर मिलाएर ९ सर्भिस सेन्टर संचालनमा राखेको छ । छिट्टै उपत्यकाको भक्तपुरमा नयाँ सर्भिस सेन्टर थपिने कम्पनीले जनाएको छ ।
मुख्य चुनौती अझै ‘पार्ट्स’ मै
नेपालमा लामो समयदेखि अटोमोबाइल व्यवसाय गरिरहेका कम्पनीहरूले चिनियाँ ईभी ब्राण्ड ल्याएका कारण बिक्री तथा सर्भिस पूर्वाधार तयार पार्नु तुलनात्मक रूपमा सहज भएको देखिन्छ । तर, स्पेयर पार्ट्सको उपलब्धता अझै पनि नेपाली ईभी बजारको प्रमुख चुनौती बनेको छ ।
विशेषगरी पार्ट्सको मूल्यलाई लिएर उपभोक्ताबाट गुनासो बढिरहेको छ । नयाँ ब्राण्डका गाडीको पार्ट्स महँगो पर्ने, आवश्यक पार्ट्स तत्काल उपलब्ध नहुने तथा आयात प्रक्रियाका कारण समय लाग्ने विषय ग्राहकको चासोमा छन् ।
त्यसैले अब बिक्रेतामाथि गाडी बिक्री बढाउने मात्र होइन, आवश्यक पार्ट्सको स्टक, मूल्य र उपलब्धता सुधार्ने दबाब पनि थपिएको छ ।

