काठमाडौं । बजाजको सबैभन्दा पावरफुल मोडल पल्सर एनएस ४०० मोटरसाइकल अब टीएफटी डिस्प्लेमा आउने भएको छ ।
बजाज अटोले एनएस ४०० मोटरसाइकलमा नयाँ ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरेर नयाँ भेरियन्ट एनएस ४०० भारतीय बजारमा बिक्री सुरू गर्ने तयारी थालेको हो ।
कम्पनीले डिस्प्ले अपडेट गरेर बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० लन्च अघि नै बजाजका डिलरसिपमा देखिन थालिसकेको छ । यद्यपि, कम्पनीले यसको लन्च मिति भने अहिलेसम्म घोषणा गरेको छैन ।
बजाजले पछिल्लो समय आफ्ना विभिन्न पल्सर मोडलमा नयाँ टीएफटी डिस्प्ले विस्तार गर्दै आएको छ । कम्पनीले सुरूमा पल्सर एन १६० र त्यसपछि पल्सर क्लासिक १२५ र १५० मा पनि समान युनिट प्रयोग गरेको थियो । अब यही टीएफटी क्लस्टर एनएस ४०० मा पनि उपलब्ध हुने देखिएको हो ।
नयाँ टीएफटी डिस्प्ले बाहेक एनएस ४०० मा अन्य ठूलो परिवर्तन हुने सम्भावना कम छ । मोटरसाइकलमा हाल प्रयोग हुँदै आएको ३४९.१३ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिनलाई नै निरन्तरता दिइने बताइएको छ । यो इन्जिनले अधिकतम ४०.६ एचपी र ३३.२ एनएम टर्क उत्पादन गर्छ ।
नयाँ भेरियन्ट मोटरसाइकलको मेकानिकल तथा टेक्निकल पक्षमा कुनै परिवर्तन हुने वा नहुने अहिलेसम्म कम्पनीले खुलाएको छैन । यसका अलावा मोटरसाइकलमा नयाँ कलर अप्सन भने थपिने जनाइएको छ ।
बजाजले पछिल्लो समय पल्सर एनएस २०० र एन २५० लाई पनि नयाँ टीएफटी डिस्प्लेसहित परीक्षण गरिरहेको देखिएको थियो । यसबाट कम्पनीले आफ्नो पल्सर रेन्जका धेरै मोडलमा क्रमशः एउटै ५ इन्च टीएफटी युनिट विस्तार गर्ने तयारी गरिरहेको संकेत दिन्छ । साथै, बजाजले निर्माण गरिरहेको आफ्नो पहिलो नयाँ डुअल स्पोर्ट मोटरसाइकलमा समेत यही प्रकारको डिस्प्ले देखिएको थियो ।

