कारमा दशैं अफर : एउटैमा १२ लाखसम्म छुट, कुन ब्राण्डकोमा कति ?

काठमाडौं । सवारी साधन बिक्रेताहरूले धमाधम फेस्टिभ अफर ल्याउन थालेका छन् । अटो व्यवसायीहरूले दशैं, तिहार तथा छठपर्वलाई लक्षित गर्दै आकर्षक अफर ल्याएका हुन् ।

मुख्यगरी चाडपर्वको बेलामा नयाँ सवारी साधन किन्ने ग्राहक धेरै हुने भएकाले उनीहरूलाई आर्कषित गर्न विभिन्न आकर्षक स्कीम ल्याएका हुन् । साथै, कम्पनीको बिक्री बढाउन र पुरानो स्टक क्लियरेन्स गर्न समेत अफरले सहयोग गर्छ ।

अटो व्यवसायीहरूले ग्राहकलाई आफ्नो ब्राण्डतिर तान्न लाखौंमा नगद छुट दिएका छन् । कम्पनीहरूले न्यूनतम १ लाखदेखि १२ लाख रुपैयाँसम्म नगद छुट घोषणा गरेको छन् ।

साथै, सवारी कर, बीमा, होम चार्जर निःशुल्क उपलब्ध गराउने योजना ल्याएका छन् । यसका अलवा लामो समयसम्म फ्री सर्भिसिङ, विस्तारित वारेन्टी जस्ता सुविधा पनि दिएका छन् ।

कुन ब्राण्डको कस्तो अफर ?

हुन्डाई : लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेस्टिभ अफर अन्तर्गत हुन्डाईका गाडीमा सिधै ३ लाखसम्म रुपैयाँसम्मको आकर्षक नगद छुट दिएको छ । त्यस्तै, ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा स्क्रयाच कार्ड मार्फत ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाउने छन् ।

त्यस्तै, ग्राहकले नयाँ गाडी खरिदमा १ वर्षको अटो प्लस इन्स्योरेन्स र सडक कर निःशुल्क पाउने छन् । साथै, कम्पनीले हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ ।

एमजी : चाडपर्वको बेला एमजीका गाडी किन्दा ३ लाख रुपैयाँसम्म लाभ पाउने छन् । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्ना सबै विद्युतीय कार मोडलमा उक्त सुविधा दिने भएको छ ।

कम्पनीका अनुसार निःशुल्क अटो प्लस इन्स्योरेन्स, सहजै फाइनान्स सुविधा, एक्सचेन्ज सुविधासँगै एक वर्षको सवारी कर पनि निःशुल्क पाउने छन् । हाल नेपालमा एमजीका एमजी फोर, एमजी एस-५, एमजी एस-६, आइएम-६ प्यासेन्जर कार र यू-९ इलेक्ट्रीक पिकअप उपलब्ध छन् ।

आइकार : पछिल्लो समय नेपाली बजारमा हटकेक मोडल बनिरहेको आइकार भी २३ मा पनि सिधै २ लाख रुपैयाँ नगद छुट पाइने भएको छ । आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले फेस्टिभ सिजनमा आइकार भी २३ किन्ने ५१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको हो । आइकार भी २३ यसअघि ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको थियो ।

कम्पनीले नगद छुटको अलावा ११ वर्षसम्मको एक्सटेन्डेड वारेन्टी, १ वर्षको वार्षिक कर, १ वर्षको इन्स्योरेन्स र ७ किलोवाटको वाल माउन्ट एसी चार्जर पनि निःशुल्क दिनेछ ।

ओमोडा/जेको : एसपीजी अटोमोबाइल्सले दशैं अफर अन्तर्गत ओमोडा ई फाइभको दुवै भेरियन्टमा १ लाख रुपैयाँ छुट दिएको छ । त्यस्तै, जेको जे फाइभमा ३ लाख र जे सिक्स टीमा २ लाख रुपैयाँ नगद छुट दिएको छ । कम्पनीले तीनै कारमा १ वर्षको वार्षिक कर, १ वर्षको बीमा र ७ किलोवाटको वाल चार्जर सित्तैमा उपलब्ध गराउने छ ।

एक्सपेङ : दशैं अफरमा सबैभन्दा धेरै छुट एक्सपेङ जी ६ खरिद गर्दा पाइन्छ । सीजी मोटर्सले ल्याएको विशेष दशैं अफर अन्तर्गत एक्सपेङ जी-६ किन्दा ग्राहकले १२ लाख रुपैयाँसम्मको विशेष छुट पाउने छन् । नगद छुटसँगै अतिरिक्त कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक वर्षको बीमा तथा एक आर्थिक वर्षको सडक दस्तुर सित्तैमा उपलब्ध गराउने छ । यसैगरी, ग्राहकले आफ्नै घरमा एक्सपेङ जी६ को टेस्ट ड्राइभ गर्न पाउने छन् । घरमै बसेर टेस्ट ड्राइभपछि गाडीको प्रविधि, फिचर र टेक्नोलोजीको बारे जान्न र अनुभव गर्न पाउने छन् ।

ग्रेटवाल मोटर : ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले विद्युतीय कारमा ३ लाख रुपैयाँ छुट दिएको छ । कम्पनील् ओरा फाइभ एसयूभीमा २ लाख रुपैयाँसम्म र हाभाल जोलियन म्याक्समा ३ लाख रुपैयाँ छुट दिएको लाभ पाउने छन् । साथै, ग्राहकले फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा ७ किलोवाटको चार्जर र एसेसरिज पाउने कम्पनीले जनाएको छ ।

होण्डा : होण्डाका कार किन्दा १० लाख रुपैयाँसम्म नगद छुट पाइन्छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ल्याएको ‘फेस्टिभ अफर होण्डाको सफर’ अन्तर्गत होण्डाका कुनै पनि कारमा उक्त छुट पाइने भएको हो ।

साथै, ग्राहकले नयाँ कार खरिदमा १ आर्थिक वर्षको सडक कर र फुल इन्स्योरेन्स निःशुल्क पाउने छन् । आगामी कात्तिक ३० गतेसम्म नयाँ कार किन्नले छुट अफर पाउने कम्पनीले जनाएको छ । यो अफर होण्डा सीआर, एलिभेट, सिटी, सिटी हाइब्रिड लगायत होण्डाका सबै मोडलमा उपलब्ध हुनेछ ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकले अन द स्पट एक्सचेन्ज सुविधा पाउने छन् । साथै आकर्षक एक्सचेन्ज बोनस समेत पाउने कम्पनीले जनाएको छ ।

आयोन : आयोयनमा प्रिमियम विद्युतीय सवारी खरिद गर्दा उपभोक्ताले ९ लाख रुपैयाँसम्मको छुट पाउन भएका हुन् । नेपालको लागि जीएसी आयोनको आधिकारीक बिक्रेता सीजी मोटर्सले ‘दशैंको बहार, आयोनको उपहार’ अन्तर्गत उक्त छुट दिने भएको हो ।

साथै, एक्सचेन्जमा आकर्षक बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स, ६.६ किलोवाटको घरायसी चार्जर तथा गाडीको लागि आवश्यक पर्ने विभिन्न सामग्री निःशुल्क दिने जनाएको छ । एक्सचेन्जमा पनि आकर्षक बोनस पाउने छन् ।


Back_to_top