काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल बजार चीनमा स्थानिय कार ब्रान्डको दबदबा बढ्दो छ । सन् २०२६ को जनवरीदेखि अगस्टसम्म चीनमा बिक्री भएका यात्रुवाहक कारमध्ये ६२.६७ प्रतिशत चिनियाँ ब्रान्डले उत्पादन गरेका कार छन् ।
यस अवधिमा बीवाइडी सबैभन्दा ठूलो ब्रान्ड बनेको छ । अहिलेसम्म बाहिर आएको तथ्यांक अनुसार चीनको यात्रुवाहक कार बजारमा जर्मन ब्रान्डको सामूहिक हिस्सा १८.२५ प्रतिशत र जापानी ब्रान्डको हिस्सा ११.८४ प्रतिशतमा खुम्चेको छ ।
अमेरिकी ब्रान्डले चीनमा ५.४४ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।
ब्रान्ड अनुसार हेर्दा सबैभन्दा अगाडि रहेको बीवाइडीसँग ९.७७ प्रतिशत बजार हिस्सा छ । दोस्रो स्थानमा रहेको फक्सवागनसँग ७.१७ प्रतिशत र तेस्रो स्थानको टोयोटासँग ७ प्रतिशत हिस्सा छ ।
चिनियाँ ब्राण्ड जिली ग्यालेक्सीले ४.४५ प्रतिशत र जिली अटोले ४.२९ प्रतिशत बजार हिस्सा ओगटेका छन् । दुबैलाई मिलाउने हो भने ८.७४ प्रतिशत बजार हिस्सा जिली ग्रुपसँग देखिन्छ ।
त्यसैगरी, वुलिङ ३.६५ प्रतिशत, लीपमोटर ३.६४ प्रतिशत, टेस्ला २.६८ प्रतिशत, चेरी २.४२ प्रतिशत र चांगान २.४१ प्रतिशत हिस्सासहित टप १० सूचीमा छन् ।
जनबरीदेखि अगस्ट अन्तिमसम्मको अवधिमा चीनमा कार बिक्री १ करोड १७ लाख युनिट भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कार बिक्री करिब २०.८ प्रतिशतले घटेको देखिन्छ ।
यस अवभिमा न्यू इनर्जी भेहिकलको हिस्सा ५६.९ प्रतिशत रहेको छ । अगस्टमा मात्रै न्यू इनर्जी भेहिकलको बिक्री ६५.२ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
विद्युतीय सवारीसाधनको तीव्र विस्तारले चिनियाँ ब्रान्डलाई बजारमा थप बलियो बनाएको विश्लेषण गरिएको छ । बीवाइडीसँगै जिली, बुलिङ, लीपमोटर, चांगान, साओमी, एक्सपेङ, चेरी र ली अटो जस्ता ब्रान्डले विद्युतीय तथा प्लग–इन हाइब्रिड सवारीसाधनमार्फत बजार विस्तार गरिरहेका छन् ।

